बारा, ०४ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा बाराको जीतपुरसिमरामा स्थानीयको प्रदर्शन चर्किएको छ ।

घटनाप्रति आक्रोश व्यक्त गर्दै स्थानीयले बिहीबार बिहानदेखि विभिन्न ग्रामीण सडकमा यातायात अवरुद्ध गरेका छन् ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले टायर बालेर सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा सडकखण्डमा यातायात ठप्प पारेका छन् ।

यसअघि बुधबार दिउँसोदेखि बन्द रहेको वीरगञ्ज–पथलैया सडकखण्डमा समेत यातायात प्रभावित भएको छ ।

गरिमाको खोजीमा प्रहरीले समयमै गम्भीरता नदेखाएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलिप क्षेत्रीमाथि कारबाहीको माग गरेका छन् ।

बालिका हराएको जानकारी समयमै प्रहरीलाई गराउँदा पनि खोजीमा लापरबाही भएको स्थानीयको आरोप छ ।

घटनाको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयसमेत बन्द भएका छन् ।

विद्यालयहरूले शोकसभा आयोजना गर्दै बालिकाको हत्या घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै प्रहरीको भूमिकामाथि छानबिन र जिम्मेवार प्रहरी अधिकारीमाथि कारबाहीको माग अघि सारेका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न वार्ताको प्रयास भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दोषी पक्राउ परिसकेको र प्रहरीको लापरबाहीसम्बन्धी स्थानीयको आरोपबारे प्रशासनले छानबिन गरिरहेको बताएका छन् ।

प्रशासन र आन्दोलनरत पक्षबीच बिहीबार नै निर्णायक वार्ता गर्ने तयारी गरिएको छ ।

घटनापछि जीतपुरसिमरा क्षेत्रमा सुरक्षा व्यवस्था र जनजीवनसमेत प्रभावित भएको छ ।