मिर्चैया उद्योग वाणिज्य संघका व्यवसायीलाई दुर्घटना, स्वास्थ्य र गम्भीर रोगको बीमा सुविधा

सिरहा, ०४ भदौ । मिर्चैया उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायी, कर्मचारी तथा सदस्यहरूका लागि दुर्घटना, स्वास्थ्य र क्रिटिकल इलनेस बीमा सुविधा उपलब्ध हुने भएको छ ।
यसका लागि मिर्चैया उद्योग वाणिज्य संघ र नेको इन्सुरेन्स लिमिटेडबीच एक वर्षका लागि सामूहिक बीमा सुविधा उपलब्ध गराउने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार संघमा आवद्ध बीमित सदस्यले दुर्घटनाका कारण मृत्यु, पूर्ण वा आंशिक अशक्तता, उपचार खर्च, आय गुमेको अवस्थामा राहत तथा शव व्यवस्थापन र अन्त्येष्टि खर्चलगायतका सुविधा पाउनेछन् ।
दुर्घटनाजन्य उपचारका लागि अधिकतम १ लाख रुपैयाँसम्मको सुविधा उपलब्ध हुने जनाइएको छ ।
त्यस्तै, सामूहिक स्वास्थ्य बीमाअन्तर्गत अस्पताल भर्ना भई उपचार गराउँदा नीति अवधिभर अधिकतम ५० हजार रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
क्रिटिकल इलनेस बीमाअन्तर्गत क्यान्सर, मिर्गौला फेल, मुटुरोग, स्ट्रोक, अंग प्रत्यारोपण, पक्षघात, पार्किन्सन्स र डिमेन्सियालगायत २८ प्रकारका गम्भीर रोगलाई समेटिएको छ ।
सम्झौताअनुसार संघले आफ्ना सदस्यहरूको विवरण, नागरिकताको प्रतिलिपि तथा आवश्यक कागजात संकलन गरी बीमा कम्पनीलाई उपलब्ध गराउनेछ । साथै प्रिमियम व्यवस्थापन र बीमा दाबी प्रक्रियामा समेत संघले समन्वय गर्नेछ ।
नेको इन्सुरेन्सले आवश्यक कागजात प्राप्त भएपछि बीमालेख जारी गर्ने तथा दाबीका लागि आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा १५ दिनभित्र दाबी भुक्तानी गर्ने जनाएको छ ।

समझदारीपत्रमा मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष भरत महासेठ र नेको इन्सुरेन्स लिमिटेडका तर्फबाट श्याम कुमार ठाकुरले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेको इन्सुरेन्सका प्रमुख प्रबन्धक कृष्ण बराल साक्षीका रूपमा उपस्थित थिए ।
हस्ताक्षर भएको मितिदेखि लागू हुने उक्त समझदारी एक वर्षसम्म कायम रहनेछ । दुवै पक्षको सहमतिमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

