मिथिला बिहारी–३ का ३१० परिवारले पाए जग्गाधनी पुर्जा

जनकपुरधाम, ०४ भदौ । धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले नापजाँच भएको करिब एक दशकपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।
नापी कार्यालय धनुषाले गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक प्रक्रिया पूरा गरी बिहीबार उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
साबिक मिथलेश्वर महुवाही गाउँ विकास समिति–१, २, ३, ४, ५, ६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लकको नाप नक्सा आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो ।
नाप नक्सा सम्पन्न भएको लामो समयसम्म पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी जग्गाधनी पुर्जाबाट वञ्चित हुँदै आएका थिए ।
नापी कार्यालय धनुषाले नाप नक्सा भइसकेका जग्गाको अभिलेख अद्यावधिक तथा दर्तासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउँदै ३१० थान जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ ।
पुर्जा प्राप्त गरेपछि लामो समयदेखि स्ववासीका रूपमा आफूले भोगचलन गर्दै आएको जग्गाको औपचारिक कानुनी स्वामित्व प्राप्त भएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
वर्षौँदेखि पुर्जाविहीन अवस्थामा रहेका परिवारलाई पुर्जा प्राप्त भएपछि अब जग्गाको स्वामित्व प्रमाणित गर्न सहज हुने भएको छ ।

नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नाप नक्सा सम्पन्न भएर पनि विभिन्न कारणले दर्ता प्रक्रिया अघि बढ्न नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधानलाई कार्यालयले प्राथमिकतामा राखेको बताए ।
उनका अनुसार नाप नक्सा सम्पन्न हुँदैमा जग्गाको स्वामित्व पूर्णरूपमा स्थापित नहुने भएकाले त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
स्थानीयको सहभागिता, आवश्यक कागजात र अन्य प्रक्रिया पूरा हुँदै गएमा लामो समयदेखि बाँकी रहेका यस्ता विषयलाई क्रमशः टुंग्याउँदै पुर्जा वितरण गरिने उनले बताए ।
जग्गाधनी पुर्जा प्राप्त भएपछि स्थानीयवासीलाई आफ्नो सम्पत्तिको कानुनी अधिकार सुनिश्चित हुनुका साथै जग्गा बिक्री वितरण, धितो राखेर कारोबार गर्न तथा अन्य प्रशासनिक काममा समेत सहज हुने विश्वास गरिएको छ ।
नापी कार्यालयका अनुसार साबिक मिथलेश्वर महुवाही गाविसअन्तर्गत नाप नक्सा सम्पन्न भएका तथा हाल मिथिला बिहारी नगरपालिका–३ मा पर्ने गाउँ ब्लकका ३१० परिवारलाई पुर्जा वितरण गरिएको हो ।
कार्यालयले धनुषाका अन्य क्षेत्रमा समेत नाप नक्सा भइसकेका तर विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन बाँकी गाउँ ब्लक तथा स्ववासी जग्गाको विवरण अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
यसबाट लामो समयदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा रहेका अन्य परिवारलाई समेत राहत पुग्ने विश्वास गरिएको छ ।

