रामचरितमानसका रचनाकार तुलसीदासको स्मृतिमा जनकपुरधाममा विशेष महोत्सव

जनकपुरधाम, ०३ भदौ । श्री रामानन्दीय श्री वैष्णव संघको आयोजनामा जनकपुरधाममा भगवान् रामका अनन्य भक्त तथा ‘रामचरितमानस’का रचनाकार गोस्वामी तुलसीदासको स्मृतिमा तुलसी जयन्ती महोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महोत्सवमा साधुसन्त, धर्मगुरु, धार्मिक अभियन्ता तथा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
महोत्सवका क्रममा तुलसीदासको जीवन, दर्शन, साहित्यिक योगदान तथा सनातन धर्म र समाजमा उनले पुर्याएको योगदानको स्मरण गरिएको थियो ।
श्री रामानन्दीय श्री वैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले तुलसीदासले भगवान् रामको आदर्श चरित्र र जीवनदर्शनलाई जनसाधारणसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनका अनुसार तुलसीदासका रचनामा समेटिएका मानवता, कर्तव्य, मर्यादा, नैतिकता र सदाचारका सन्देश वर्तमान समाजमा समेत उत्तिकै सान्दर्भिक छन् ।
महोत्सवमा ‘रामचरितमानस’का विभिन्न प्रसंग वाचनसँगै भजनकीर्तन र धार्मिक प्रवचन आयोजना गरिएको थियो ।
साधुसन्त तथा वक्ताहरूले तुलसीदासका कृतिले धार्मिक आस्था मजबुत बनाउन, नैतिक मूल्य स्थापित गर्न तथा सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गरे ।
भजनकीर्तन, धार्मिक अनुष्ठान तथा प्रवचनका कारण आज दिनभर जनकपुरधामको वातावरण भक्तिमय बनेको थियो ।
सहभागीहरूले तुलसीदासको योगदानको स्मरण गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरणमा सबैको भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।
श्री रामानन्दीय श्री वैष्णव संघले तुलसी जयन्ती महोत्सवलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने जनाएको छ ।
संघले धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत जनकपुरधामको मौलिक पहिचान र सनातन परम्पराको संरक्षण तथा प्रवद्र्धनमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

