विभिन्न मुद्दाका ८ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, ०३ भदौ । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयनअन्तर्गत प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये तीन जना लिखतसम्बन्धी कसुर, एक जना सवारी ज्यान, एक जना लागूऔषध, एक जना हुन्डीसम्बन्धी कसुर, एक जना चेक अनादर र एक जना चोरी मुद्दाका फरार प्रतिवादी रहेका छन् ।
प्रहरीका अनुसार लिखतसम्बन्धी कसुरमा एक जनालाई ४ महिना १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना, अर्का एक जनालाई ९ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा तेस्रो व्यक्तिलाई २ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, सवारी ज्यान मुद्दामा १ महिना १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना, लागूऔषध मुद्दामा ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तथा हुन्डीसम्बन्धी कसुरमा २ महिना कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।
चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना र चोरी मुद्दामा १३ दिन कैद तथा २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले अदालतबाट सजाय तोकिएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको जानकारी दिए ।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई समेत निरन्तरता दिइरहेको जनाएको छ ।

