सर्लाही, ०३ भदौ । जिल्लाको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको प्रसारणलाइन गत साउन ३० गते चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

लालबन्दी नगरपालिका–१ नवलपुरस्थित ग्रिड सबस्टेसनबाट चक्रघट्टा गाउँपालिका–७ चैनपुरामा निर्माणाधीन ग्रिड सबस्टेसनसम्म प्रसारणलाइनमार्फत विद्युत् प्रवाह सुरु भइसकेको छ ।

प्रसारणलाइन पूर्ण रूपमा सञ्चालनमा आएपछि हरिपुर, हरिपुर्वा, मलंगवा, गोडैता र बरहथवा लगायत दक्षिणी सर्लाहीका क्षेत्रमा विद्युत् आपूर्ति थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

आयोजनाअन्तर्गत पाँचवटा ३३ केभी फिडरमार्फत विद्युत् वितरण गर्ने तयारी भइरहेको छ ।

हरिपुर, हरिपुर्वा, मलंगवा, गरहैया–डुमरिया र बरहथवा फिडर निर्माण तथा सञ्चालनको काम अघि बढाइएको हो ।

तीमध्ये मलंगवा र हरिपुर फिडरबाट विद्युत् आपूर्ति सुरु गर्ने काम अन्तिम चरणमा पुगेको र भदौभित्रै विद्युत् प्रवाह गर्ने लक्ष्य राखिएको आयोजनाका इन्जिनियर सुशान्तकुमार ठाकुरले जानकारी दिए ।

प्रसारणलाइन निर्माणका लागि २०७६ सालमा सर्वेक्षण सुरु गरिएको थियो ।

निर्माणका लागि २०७९ चैत २७ गते ठेक्का सम्झौता भई २०८० वैशाख २६ गतेदेखि निर्माण सुरु गरिएको हो ।

२०८३ असोज मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भएको थियो । आयोजनाको निर्माण सिग्मा कन प्रालि–एमएसपीएल जेभीले गरिरहेको छ ।

आयोजनाका क्रममा टावर निर्माण हुने जग्गा तथा प्रसारणलाइनको दायाँ बायाँ नौ/नौ मिटर क्षेत्रका प्रभावित जग्गाधनीलाई ११ करोड ४० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ ।

टावरका लागि अधिग्रहण गरिएको जग्गाबापत १० करोड र प्रसारणलाइन प्रभावित क्षेत्रका जग्गाधनीलाई १ करोड ४० लाख रुपैयाँ मुआब्जा दिइएको आयोजनाले जनाएको छ ।

हाल दक्षिणी सर्लाहीका अधिकांश क्षेत्रमा नवलपुर ग्रिड सबस्टेसनबाट लामो दूरीको प्रसारणलाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ ।

लामो दूरीका कारण प्राविधिक समस्या तथा विद्युत् आपूर्तिमा अनियमितता देखिँदै आएको प्राविधिकहरूको भनाइ छ ।

नवलपुरमा १३२ केभी ग्रिड सबस्टेसन सञ्चालनमा आएपछि जिल्लाको उत्तरी तथा मध्य क्षेत्रमा विद्युत् आपूर्तिको समस्या धेरै हदसम्म सुधार भएको थियो ।

अब सलेमपुर सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पनि विद्युत् वितरण प्रणाली थप सुदृढ हुने विश्वास गरिएको छ ।

सलेमपुर सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीमा १३२ केभी क्षमताका दुई ठूला ग्रिड सबस्टेसन हुनेछन् ।

यसअघि लालबन्दी नगरपालिका–१ नवलपुरमा करिब ४६ करोड रुपैयाँ लगानीमा १३२ केभी क्षमताको ग्रिड सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको थियो ।

नवलपुर सबस्टेसनले जिल्लाको उत्तरी तथा मध्य क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ ।