रौतहट, ०३ भदौ । भारतको बिहारस्थित मोतिहारी जिल्लामा ७५० ग्राम गाँजासहित एक नेपाली युवक पक्राउ परेका छन् ।

सुगौली थाना क्षेत्रमा लागुऔषधविरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा प्रहरीले बारा जिल्लाको जितपुर उपमहानगरपालिका–१ का राजन मुखियालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंगलबार गोप्य सूचनाका आधारमा विशेष निगरानी बढाइएको थियो । सोही क्रममा भारततर्फ जाँदै गरेका मुखियालाई नियन्त्रणमा लिँदा उनको साथबाट ७५० ग्राम गाँजा बरामद भएको थियो ।

सुगौली थानाका प्रभारी अनिश कुमार सिंहका अनुसार बरामद गाँजा नियन्त्रणमा लिएर पक्राउ परेका युवकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार मुखिया जितपुर क्षेत्रबाट गाँजा लिएर भारतीय भूमितर्फ प्रवेश गरेका थिए । नेपालतर्फको सीमाबाट करिब ३५ किलोमिटर भारतीय क्षेत्रमा पुगेपछि उनी पक्राउ परेका हुन् ।

नेपाल–भारत खुला सीमाका कारण सीमावर्ती क्षेत्रमा लागुऔषधको ओसारपसार नियन्त्रण सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ ।

पछिल्लो घटनाले सीमावर्ती क्षेत्रमा हुने अवैध लागुऔषध ओसारपसार नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच थप समन्वय आवश्यक देखिएको छ ।