बारा, ०३ भदौ । जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेमा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बालिका खोज्न प्रहरीसँगै घटनास्थलमा खटिएका सुमन थापा र उनका सहकर्मी प्रोग्रेस चौधरी रहेका छन् ।

आइतबार बिहानदेखि बेपत्ता भएकी बालिकाको शव मंगलबार साँझ घरबाट करिब २ सय मिटर टाढा रहेको खाली घरमा कपडाले पोको पारेको अवस्थामा फेला परेको थियो ।

शव फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा घटनास्थलमै रहेका सुमनमाथि शंका भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सुमनले बालिकामाथि यौन हिंसा गरी हत्या गरेको स्वीकार गरेका छन् । यद्यपि, घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुमन वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन् । उनले काम गर्ने ना.१ ज ७७५८ नम्बरको गाडीका चालक प्रोग्रेस चौधरीलाई पनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।

प्रहरीले घटनामा सुमनको मात्रै संलग्नता रहेको प्रारम्भिक बयानबाट खुलेको जनाएको छ ।

बालिका बेपत्ता भएपछि परिवार र स्थानीयले खोजी गरिरहेका थिए । पछि गाउँकै एक खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी गर्दा बालिकाको शव फेला पारेको हो ।

घटनापछि बालिकाको परिवार शोकमा डुबेको छ । स्थानीयले समेत घटनाप्रति आक्रोश व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

हत्याको विरोधमा प्रदर्शन
बालिकाको हत्या विरोधमा स्थानीयले बुधबार सिमरामा प्रदर्शन गरेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरा अगाडि भेला भएका प्रदर्शनकारीले घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनका क्रममा स्थानीयले वीरगञ्ज–पथलैया सडकखण्डसमेत अवरुद्ध गरेका छन् ।

घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा सजाय दिनुपर्ने उनीहरूको माग छ ।

प्रहरीले भने पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।