जनकपुरधाम, ०२ भदौ । वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएपछि उनका छोराहरूले अस्पतालको उपचार प्रणालीप्रति गम्भीर प्रश्न उठाएका छन् ।

विमलका छोराहरू डा. आभाष लाभ र विभाष लाभले सामान्य स्वास्थ्य समस्या देखिएपछि अस्पताल लगिएका आफ्ना बुवाले समयमा विशेषज्ञ चिकित्सकको उपचार नपाउँदा ज्यान गुमाउनुपरेको आरोप लगाएका हुन् ।

परिवारका अनुसार गत सोमबार राति करिब ११ बजे खाना खाएर परिवारसँग कुराकानी गरिरहेका विमललाई अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

चिकित्सकको सल्लाहमा उनलाई प्रादेशिक अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याएपछि लामो समयसम्म विशेषज्ञ चिकित्सक उपचारका लागि नआएको परिवारको दाबी छ ।

विभाषका अनुसार राति ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई पटकपटक चिकित्सक बोलाउन आग्रह गरे पनि तत्काल विशेषज्ञ चिकित्सक उपलब्ध भएनन् । स्वास्थ्यकर्मीबाट भएको उपचारकै क्रममा विमलको अवस्था बिग्रिँदै गएको उनको भनाइ छ ।

विमलका छोरा आभाष आफैँ चिकित्सक हुन् । उनले बुवाको मुटुमा पेसमेकर राखिएको र यस्तो अवस्थामा स्वास्थ्यमा आएको सामान्य समस्यामा समेत विशेष सावधानी आवश्यक पर्ने बताए ।

उनका अनुसार अस्पतालमा उपचारका क्रममा एजिथ्रोमाइसिन औषधि प्रयोग गरिएको थियो । उक्त औषधिको प्रयोगले बुवाको स्वास्थ्य अवस्था थप जटिल बनेको हुन सक्ने परिवारको आशंका छ ।

परिवारले अस्पतालमा चिकित्सकको उपलब्धता, उपचारमा भएको ढिलाइ तथा औषधि प्रयोगबारे छानबिन हुनुपर्ने मागसमेत अघि सारेको छ ।

उनीहरूले व्यक्तिगत रूपमा कसैलाई दोषारोपण गर्नेभन्दा पनि अस्पतालको उपचार प्रणाली र व्यवस्थापनमा सुधार आवश्यक रहेको बताएका छन् ।

विमलका छोराहरूले आफूहरूले बुवालाई मात्र नभई मिथिलाले महत्वपूर्ण साहित्यिक व्यक्तित्व गुमाएको बताएका छन् । विमलले लेख्दै आएको ‘सीता चरित्र’ नामक पुस्तकसमेत पूरा हुन नपाएको उनीहरूको भनाइ छ ।

जनकपुरधाम–१० निवासी ७९ वर्षीय प्रा.डा. राजेन्द्र विमलको गत सोमबार राति उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो ।

लामो समय अध्यापन क्षेत्रमा सक्रिय विमलले विज्ञान विषयमा विद्यावारिधि गर्नुका साथै नेपाली, हिन्दी र अंग्रेजी विषयमा स्नातकोत्तर गरेका थिए ।

बाल्यकालदेखि साहित्यमा रुचि राख्दै आएका विमलका विभिन्न कथा, नाटक तथा लघुकथा प्रकाशित छन् ।

नेपाली तथा मैथिली साहित्यमा पुर्‍याएको योगदानका लागि उनले २०६६ सालमा जगदम्बाश्री पुरस्कारसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका थिए ।