वन उजाडेर अतिक्रमण गर्नेविरुद्ध कडा कारबाही हुने

महोत्तरी, ०२ भदौ । वनक्षेत्र फँडानी गरी अतिक्रमण गर्ने तथा योजनाबद्ध रूपमा रुख नष्ट गर्नेविरुद्ध डिभिजन वन कार्यालय महोत्तरीले कडा कारबाही अघि बढाउने भएको छ ।
सागरनाथ वन विकास परियोजनाअन्तर्गतको दुई नम्बर प्लटमा ठूलो संख्यामा रुख काटिएको तथा केही रुखको फेदमा विषादी प्रयोग गरी सुकाउने प्रयास गरिएको अनुसन्धानबाट खुलेपछि वन कार्यालयले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको तयारी गरेको हो ।
डिभिजन वन कार्यालय महोत्तरीका वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार अनुसन्धानका क्रममा १९५ वटा टिक जातका रुख काटिएको तथा रुखको जरामा समेत विषादी प्रयोग गरिएको पाइएको छ ।
घटनामा वन फँडानीका लागि परिचालित समूह वा व्यक्तिको पहिचान गर्ने काम भइरहेको उनले बताए ।
रेन्जपोस्ट प्रमुख प्रेम उपाध्यायका अनुसार घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ ।
रुख काट्ने तथा फेदमा विषादी प्रयोग गरी जरासमेत नष्ट गर्ने कार्यमा संलग्न व्यक्तिबारे महत्वपूर्ण जानकारी प्राप्त भइसकेको उनले बताए ।
उनका अनुसार अनुसन्धानको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।
प्रतिवेदन डिभिजन वन कार्यालयमा बुझाएपछि घटनामा संलग्न पहिचान भएका व्यक्तिविरुद्ध कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।
वनक्षेत्र संरक्षणका लागि नियमित निगरानी बढाइएको बताउँदै वन कार्यालयले वन फँडानी तथा अतिक्रमणमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउने जनाएको छ ।
रुख काट्ने मात्र नभई रुखको जरा नै नष्ट गर्ने उद्देश्यले विषादी प्रयोग गरिएको घटनालाई वन कार्यालयले गम्भीर रूपमा लिएको छ ।

