बारा, ०२ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाबाट केही दिनदेखि हराइरहेकी करिब चार वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित आफ्नै घरबाट साउन ३१ गतेदेखि हराएकी चार वर्षीया गढीमा चौधरी मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार बालिकाको शव घरदेखि करिब दुई सय मिटर टाढा रहेको एउटा खाली घरमा फेला परेको हो ।

शव फेला परेपछि घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट बालिकाको हत्या भएको हुन सक्ने देखिएको छ ।

घटनास्थल सुरक्षित गरी प्रहरीले आवश्यक प्रमाण संकलन तथा अनुसन्धान अघि बढाएको छ ।

नर्सरीमा अध्ययनरत बालिका हराएपछि परिवार तथा स्थानीयले खोजी गरिरहेका थिए। मंगलबार उनको शव फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा त्रास र शोक सिर्जना गरेको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम कलैया पठाएको जनाएको छ ।

पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानबाट मृत्युको वास्तविक कारण र घटनामा संलग्न व्यक्तिबारे खुल्ने प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।