जनकपुरधाम, ०२ भदौ । श्री रामानन्दीय श्री वैष्णव संघले सन्तशिरोमणि गोस्वामी तुलसीदासको जयन्तीका अवसरमा जनकपुरधाममा विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रम आयोजना गर्न लागेको छ ।

संघले मंगलबार जनकपुरधाम–८ स्थित सन्त तुलसी स्मारक सदनमा पत्रकार सम्मेलन आयोजना गर्दै भदौ ३ गते बुधबार तुलसीदास जयन्ती महोत्सव मनाउन लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष रामरोशन दास वैष्णवले सन्त तुलसीदासले रामभक्तिको माध्यमबाट सनातन धर्म, संस्कार र आध्यात्मिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उहाँको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।

अध्यक्ष दासका अनुसार महोत्सवअन्तर्गत साउन २६ गतेदेखि भदौ ३ गतेसम्म दैनिक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म श्री रामचरितमानस नवाह पारायण पाठ भइरहेको छ ।

त्यस्तै, अपराह्न ४ बजेदेखि राति ८ बजेसम्म बधाई, कथा, कीर्तन तथा सत्सङ्गलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

महोत्सवमा विभिन्न विद्वान् तथा वक्ताहरूबाट धार्मिक तथा आध्यात्मिक प्रवचनसमेत हुने संघले जनाएको छ ।

भदौ ३ गते बिहान विशेष पूजा, श्री रामानन्दीय वैष्णव संघको पाठ, बधाई तथा प्रसाद वितरण कार्यक्रम राखिएको छ ।

त्यसैगरी दिउँसो शोभायात्रा आयोजना गरिनेछ । शोभायात्रामा बाजागाजा, संगीत, प्रवचन तथा धार्मिक उपदेशलगायतका कार्यक्रम सञ्चालन हुने अध्यक्ष दासले जानकारी दिए ।

अध्यक्ष दासले जनकपुरधाम धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल भएकाले यहाँ आयोजना हुने यस्ता धार्मिक कार्यक्रमले मिथिलाको धार्मिक परम्परा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले महोत्सवमा श्रद्धालु, धर्मप्रेमी, साधुसन्त तथा सर्वसाधारणलाई सहभागी भई कार्यक्रमको शोभा बढाउन आग्रह गरेका छन् ।


संघका अनुसार सन्त तुलसी स्मारक सदन जनकपुरधाम–८ मा आयोजना हुने महोत्सवमा धार्मिक प्रवचन, रामचरितमानस पाठ, कीर्तन, सत्सङ्ग र शोभायात्रालगायतका कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन् ।