दश वर्षपछि ५७ परिवारले पाए जग्गाधनी पुर्जा

जनकपुरधाम, ०२ भदौ । धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारले नापजाँच भएको करिब एक दशकपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।
नापी कार्यालय धनुषाले गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
साविक मखनाहा गाउँ विकास समिति–६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लकको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो ।
नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गर्न स्थानीयको सहभागिता अपेक्षाकृत न्यून हुँदा पुर्जा वितरणमा लामो समय लागेको नापी कार्यालय धनुषाले जनाएको छ ।
नापजाँच भइसकेका जग्गाको अभिलेख तथा अन्य आवश्यक प्रक्रिया अद्यावधिक गर्दै कार्यालयले ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
पुर्जा पाएपछि वर्षौंदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले आफूले भोगचलन गर्दै आएको जग्गाको औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नापजाँच सम्पन्न भएर पनि विभिन्न कारणले दर्ता प्रक्रिया अघि बढ्न नसकेका गाउँ ब्लकका जग्गाधनीलाई आवश्यक प्रक्रिया पूरा गरी पुर्जा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखिएको बताए ।
‘नापजाँच भएर मात्र जग्गाको स्वामित्व पूर्णरूपमा स्थापित हुँदैन, त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्छ,’ प्रमुख उमेश कुमारले भने, ‘स्थानीयको सहभागिता र आवश्यक कागजात तथा प्रक्रिया पूरा हुँदै गएमा यस्ता पुराना विषयलाई क्रमशः टुंग्याएर जग्गाधनी पुर्जा उपलब्ध गराउँदै जानेछौँ ।’
उनका अनुसार लामो समयदेखि पुर्जाविहीन अवस्थामा रहेका परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध हुँदा उनीहरूको सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित हुनुका साथै जग्गाको कारोबार, धितो तथा अन्य प्रशासनिक काममा समेत सहजता हुने विश्वास गरिएको छ ।
स्थानीयवासीले पनि वर्षौँदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको पुर्जा हात परेपछि राज्यबाट आफ्नो स्वामित्व औपचारिक रूपमा प्रमाणित भएको अनुभूति भएको बताएका छन् ।
नापी कार्यालयका अनुसार गाउँ ब्लक तथा स्ववासी प्रकृतिका नापजाँच भइसकेका तर विभिन्न कारणले दर्ता हुन बाँकी जग्गाको विवरण र प्रक्रिया अध्ययन गरी क्रमशः आवश्यक काम अघि बढाइनेछ ।
यसले लामो समयदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा रहेका अन्य परिवारलाई समेत राहत पुग्ने कार्यालयको विश्वास छ ।

