सीमा क्षेत्रमा २६ लाखभन्दा बढीका अवैध सामान बरामद

सिरहा, ०२ भदौ । सिरहाका विभिन्न सीमा नाकाबाट सशस्त्र प्रहरीले भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको २६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार जिल्लाका विभिन्न सीमा क्षेत्रमा खटिएको टोलीले लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान, मदिरा तथा पेय पदार्थ, हार्डवेयरका पार्टपुर्जा, बीउबिजनलगायतका सामान बरामद गरेको हो ।
बरामद सामग्रीको कुल मूल्य २६ लाख २९ हजार ९ सय ९३ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा नियमित गस्ती तथा निगरानीका क्रममा भन्सार छली गरी ओसारपसार गर्न लागिएका तथा ल्याइएका सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ ।
सशस्त्र प्रहरी सिरहाका प्रमुख एसपी सुमनजंग थापाका अनुसार बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
सीमा क्षेत्रमा अवैध चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ ।

