महोत्तरी, ०१ भदौ । महोत्तरीको औरही नगरपालिकामा चापाकल तथा ह्याण्डपम्प खरिद र वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी र विभिन्न आपूर्तिकर्ता तथा सञ्चालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले ह्याण्डपम्प/ट्युबवेल (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत प्रक्रिया अपनाइएको अनुसन्धानबाट खुलेको हो ।

अनुसन्धानका क्रममा मालसामानको लागत अनुमान तयार गर्दा ‘कन्ट्र्याक्टर्स ओभरहेड’ का नाममा आइटम दररेटमा १५ प्रतिशत थप गरिएको, एउटै प्रकृतिका सामानलाई विभिन्न खरिद विधिमार्फत पटकपटक खरिद गरी ‘प्रोक्योरमेन्ट स्प्लिटिङ’ गरिएको र खरिद प्रक्रियामा प्रतिस्पर्धालाई सीमित पारिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार आपूर्तिकर्तासँगको मिलेमतोमा बोलपत्रमार्फत खरिद गर्नुपर्ने सामान सिलबन्दी दरभाउपत्र तथा सोझै खरिद गरिएको थियो । यसबाट स्थानीय सरकार तथा नेपाल सरकारलाई हानिनोक्सानी पुगेको दाबी आयोगको छ ।

त्यस्तै, खरिद गरिएका ह्याण्डपम्पलगायत सामानको दोहोरो भरपाई तयार गरिएको तथा वितरण गरिएको भनिएका सामान बुझिलिएको प्रमाणसमेत विश्वसनीय रूपमा पेस गर्न नसकेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।

आयोगले यस प्रकरणमा औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली विरुद्ध ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो मागदाबी गरेको छ । तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव र तत्कालीन सब–इन्जिनियर बिपिन कुमार मण्डल विरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यसैगरी तत्कालीन लेखापाल विजय कुमार यादव र योजना शाखा प्रमुख गंगाराम यादव विरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादव विरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आपूर्तिकर्तातर्फ लिला आयरन स्टोर्स औरही–१ र सञ्चालक बिनय कुमार यादवविरुद्ध ५ लाख ३४ हजार ८७६ रुपैयाँ ८१ पैसा, डी.एम. जेनरल अर्डर सप्लायर्स, जलेश्वर–३ र सञ्चालक दुधनाथ कुमरविरुद्ध ११ लाख ८९ हजार ४७१ रुपैयाँ ३६ पैसा बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, श्रीराम इन्टरप्राइजेज जलेश्वर–३ र सञ्चालक अमरनाथ कुमरविरुद्ध २ लाख २० हजार १९७ रुपैयाँ ३६ पैसा, जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स) औरही–१ र सञ्चालक रामबाबु चौधरीविरुद्ध ७ लाख ९ हजार ६२३ रुपैयाँ ९२ पैसा बिगो मागदाबी गरिएको छ ।

क्वालिटी सोलुसन कम्पनी प्रालि. बागडोल–४ ललितपुर र त्यसका प्रबन्ध निर्देशक मनोज कुमार यादवविरुद्ध ७ लाख ११ हजार ९०० रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।

आयोगले सरकारी कर्मचारी तथा अन्य मुख्य प्रतिवादीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको र आपूर्तिकर्ताहरूले उक्त कसुरमा मतियारका रूपमा सहयोग गरेको भन्दै दफा २२ बमोजिम समेत सजायको मागदाबी गरेको छ ।

आपूर्तिकर्ता फर्महरूको हकमा भ्रष्टाचार निवारण ऐनको दफा २३क बमोजिमसमेत सजाय हुन माग गरिएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानबाट कसुर पुष्टि भएपछि प्रतिवादीहरूविरुद्ध बिगो असुल, बिगोबमोजिम जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

अब मुद्दामा प्रतिवादीहरूको बयान, प्रमाण परीक्षण तथा दुवै पक्षको बहसपछि विशेष अदालतले दोषी वा निर्दोष ठहर गर्नेछ ।