जनकपुरधाम, ०१ भदौ । भुस खरिदबापतको करिब ५० लाख रुपैयाँ भुक्तानी नगरेको आरोपमा जनकपुर रिफाइनरीसँग सम्बन्धित चारजनाविरुद्ध ठगी तथा विश्वासघातसम्बन्धी मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले साउन २० गते जनकपुर रिफाइनरीका सञ्चालकसहित चारजनाविरुद्ध मुद्दा दर्ता गरेपछि जिल्ला अदालत धनुषाबाट उनीहरूलाई पक्राउ गर्न अनुमति दिइएको हो ।

पक्राउ पुर्जी जारी हुनेमा जनकपुर रिफाइनरीकी सञ्चालक ३५ वर्षीया रइसा टिवडेवाल, उनका ४० वर्षीय पति तथा कम्पनीका प्रबन्धक विनित अग्रवाल, सञ्चालकका दाइ ४५ वर्षीय रोमिल टिवडेवाल र कम्पनीका पर्चेज डाइरेक्टर ३५ वर्षीय मुन्नाकुमार सिंह (राकेश) रहेका छन् ।

धनुषा प्रहरीले चारैजनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको पुष्टि गर्दै उनीहरूको खोजी भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले फरार रहेका चारैजनाको खोजी भइरहेको जानकारी दिएका छन् ।

करिब ४९ लाख ५० हजार रुपैयाँ बक्यौता
भुस आपूर्तिबापतको रकम भुक्तानी नभएको विषय यसअघि नै सार्वजनिक भएको थियो ।

कम्पनीको आन्तरिक सप्लायर लेजरमा ‘रोशन भुसा खरिद बिक्री केन्द्र’को नाममा ४९ लाख ४९ हजार ८ सय ८३ रुपैयाँ ५० पैसा बक्यौता देखिएको जनाइएको छ ।

भुस आपूर्तिकर्ताका अनुसार रिफाइनरीकै आग्रहमा स्थानीय किसानबाट भुस खरिद गरेर उद्योगमा आपूर्ति गरिएको थियो ।

कारोबारको शुरुवाती चरणमा नियमित रूपमा भुक्तानी भए पनि कारोबारको मात्रा बढ्दै गएपछि रकम भुक्तानी हुन छाडेको उनीहरूको आरोप छ ।

बक्यौता रकम भुक्तानीका लागि पटकपटक ताकेता गर्दा पनि रकम नदिएको र उद्योगमा प्रवेशसमेत रोक लगाइएको आपूर्तिकर्ताको दाबी छ ।

मुद्दा दर्ता भएसँगै प्रहरीले पक्राउ पुर्जी जारी भएका चारैजनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गर्ने तयारी गरेको छ ।

पक्राउ पुर्जी जारी भएका मुन्नाकुमार सिंह (राकेश) ढल्केवर उद्योग वाणिज्य संघका अध्यक्षसमेत हुन् ।

प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि भुस खरिद, आपूर्ति, भुक्तानी रोकिएको कारण तथा बक्यौता रकमसम्बन्धी विषयमा विस्तृत अनुसन्धान गर्ने जनाएको छ ।