जनकपुरधाम, ०१ भदौ । नेपाल पूर्व प्रहरी संगठनको ३६औँ स्थापना दिवस सोमबार जनकपुरधाममा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ ।

संगठनले आयोजना गरेको कार्यक्रममा बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारी, पूर्व प्रहरी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले पूर्व प्रहरी कर्मचारीहरूले संगठनमा रहँदा राष्ट्र र नागरिकको सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै अवकाशपछि पनि समाजप्रतिको जिम्मेवारी र अनुशासनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले प्रहरी सेवामा लामो समय योगदान गरेका पूर्व प्रहरी कर्मचारीको अनुभव र ज्ञान समाज तथा नयाँ पुस्ताका लागि महत्वपूर्ण रहेको बताउँदै सुरक्षा क्षेत्रमा देखिएका नयाँ चुनौती सामना गर्न बहालवाला र पूर्व प्रहरीबीचको सहकार्य आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु भट्टले प्रहरी सेवामा कार्यरत रहँदा हासिल गरेको अनुभवलाई अवकाशपछि पनि सामाजिक हितमा उपयोग गर्न पूर्व प्रहरी कर्मचारीलाई आग्रह गरे ।

उनले पूर्व प्रहरी कर्मचारीको योगदानको सम्मान गर्दै संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउन आपसी एकता तथा सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षकलगायतका प्रहरी अधिकृतहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा अवकाशप्राप्त सिनियर अधिकृत, जुनियर अधिकृत तथा पूर्व प्रहरी जवानहरूको उल्लेख्य सहभागिता थियो ।

वक्ताहरूले पूर्व प्रहरी कर्मचारीबीच आपसी भाइचारा, एकता र सहकार्य कायम राख्दै संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रहरी सेवाका क्रममा हासिल गरेका अनुभव र सिकाइलाई समाजको शान्ति, सुरक्षा तथा सामाजिक सेवामा उपयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

स्थापना दिवसका अवसरमा पूर्व प्रहरी कर्मचारीहरूले विगतमा संगठन र राष्ट्रका लागि गरेका सेवाको स्मरण गर्दै आगामी दिनमा पनि समाज र राष्ट्रको हितमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम पूर्व प्रहरी कर्मचारीहरूबीचको भेटघाट, अनुभव आदानप्रदान तथा आपसी सम्बन्ध सुदृढ गर्ने अवसरसमेत बनेको आयोजकले जनाएको छ ।