जनकपुरधाम, ०१ भदौ । टिभिएस मोटर कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर TVS Orbiter जनकपुरधाममा सार्वजनिक गरेको छ ।

कम्पनीको जनकपुरधामस्थित आधिकारिक विक्रेता आर्यन अटोमोबाइल्समार्फत सार्वजनिक गरिएको Orbiter लाई स्मार्ट, दिगो र शहरी यात्राका लागि लक्षित विद्युतीय स्कुटरका रूपमा प्रस्तुत गरिएको हो ।

जनकपुरधाममा सोमबार आयोजित कार्यक्रममा आर्यन अटोमोबाइल्सका सञ्चालक सञ्जीव कुमार महतोले TVS Orbiter ले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता र विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई सम्बोधन गर्ने बताए ।

उनले भने, ‘नेपालमा विद्युतीय सवारीको प्रयोग बढिरहेको अवस्थामा ग्राहकले खोज्ने रेन्ज, आराम, सुरक्षा र आधुनिक प्रविधिलाई ध्यानमा राखेर TVS Orbiter ल्याइएको हो । जनकपुरधामका ग्राहकले पनि अब एउटै स्कुटरमा दैनिक प्रयोगका लागि आवश्यक सुविधा, राम्रो रेन्ज र स्मार्ट प्रविधिको अनुभव लिन सक्नेछन् ।’

Orbiter मा ३.१ किलोवाट आवरको ब्याट्री रहेको छ भने कम्पनीका अनुसार यसले एक पटकको चार्जमा १५८ किलोमिटरसम्मको IDC रेन्ज प्रदान गर्छ ।

स्कुटरमा हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल, पार्किङ असिस्ट तथा रिजेनेरेटिभ ब्रेकिङसहित Eco र City गरी दुई राइडिङ मोड उपलब्ध छन् ।

यसको अर्को विशेषता १४ इन्चको फ्रन्ट ह्विल हो । ठूलो अगाडिको पांग्राले विभिन्न सडकमा स्थिरता, ग्रिप र सहज ह्यान्डलिङमा सहयोग गर्ने कम्पनीको दाबी छ ।

१६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर पनि स्कुटर उपयोगी हुने बताइएको छ ।

डिजाइनतर्फ Orbiter मा एज–टु–एज फ्रन्ट लाइट, भाइजरसहितको LED हेडलाइट, इन्टिग्रेटेड इन्डिकेटर, कलर LCD कनेक्टेड क्लस्टरलगायतका सुविधा छन् ।

स्कुटरमा ३४ लिटरको अन्डर–सिट स्टोरेज रहेको छ । त्यसमा दुईवटा हेल्मेटसम्म राख्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, कनेक्टेड मोबाइल एपमार्फत ब्याट्री चार्ज र ओडोमिटरको अवस्था जाँच गर्न सकिने, जियो–फेन्सिङ तथा टाइम–फेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ, दुर्घटना तथा स्कुटर ढलेको अलर्ट, चोरी तथा टोइङ अलर्ट र OTA अपडेटजस्ता स्मार्ट सुविधा पनि उपलब्ध छन् ।

महतोका अनुसार ग्राहकको विश्वास कायम राख्न बिक्रीसँगै आफ्टर सेल्स सेवा र स्पेयर पार्ट्सको सहज उपलब्धतामा पनि कम्पनीले विशेष ध्यान दिएको छ ।

‘EV खरिद गर्दा ग्राहकले उत्पादनसँगै बिक्रीपछिको सेवा पनि हेर्छन् । त्यसैले हाम्रो प्राथमिकता राम्रो स्कुटर बिक्री गर्नु मात्र नभई ग्राहकलाई दीर्घकालीन रूपमा भरपर्दो सेवा र सहज स्वामित्व अनुभव दिनु हो,’ महतोले भने ।

TVS Orbiter नेपालमा Neon Sunburst, Cosmic Titanium र Martian Copper गरी तीन रंगमा उपलब्ध हुनेछ । यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

TVS मोटर कम्पनीले यसअघि नेपालमा TVS iQube इलेक्ट्रिक स्कुटरमार्फत विद्युतीय दुईपांग्रे बजारमा उपस्थिति जनाएको थियो । Orbiter को आगमनसँगै कम्पनीले आफ्नो इलेक्ट्रिक स्कुटर पोर्टफोलियोलाई थप विस्तार गरेको छ ।

आर्यन अटोमोबाइल्सले जनकपुरधामसहित आसपासका क्षेत्रमा TVS का दुईपांग्रे सवारी साधनको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।

नयाँ Orbiter ले मधेश प्रदेशका शहरी तथा अर्धशहरी क्षेत्रमा विद्युतीय सवारीको प्रयोगलाई थप बढावा दिने विश्वास गरिएको छ ।