११ वर्षपछि मिथिला–४ का ११० परिवारले पाए जग्गाधनी पुर्जा

जनकपुरधाम, ०१ भदौ । धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।
नापी कार्यालय धनुषाले साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको प्रक्रिया पूरा गर्दै स्थानीयलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रमा आर्थिक वर्ष २०७१/७२ मै जग्गाको नापजाँच तथा नापनक्साको काम सम्पन्न भएको थियो ।
तर, नापजाँचपछि जग्गा दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाउन स्थानीयको जनसहभागिता न्यून भएपछि लामो समयसम्म पुर्जा वितरण हुन सकेको थिएन ।
नापजाँच सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसक्दा वर्षौंदेखि स्थानीयवासी जग्गाको स्वामित्वसम्बन्धी आधिकारिक प्रमाणबाट वञ्चित रहँदै आएका थिए ।
आयोगमार्फत यसअघि नापनक्सा भइसकेका गाउँ ब्लक तथा स्ववासी जग्गाको बाँकी प्रक्रिया पूरा गरी अहिले पुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले बताए ।
उनका अनुसार आवश्यक कागजात, विवरण तथा अन्य प्रक्रियाहरू पूरा गरेपछि ११० परिवारलाई ११० थान जग्गाधनी पुर्जा उपलब्ध गराइएको हो ।
लामो समयपछि जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने पुर्जा पाएपछि स्थानीयवासीले राहत महसुस गरेका छन् ।
जग्गाधनी पुर्जा प्राप्त भएपछि जग्गाको स्वामित्व सुरक्षित हुनुका साथै भविष्यमा सम्बन्धित जग्गासँग जोडिएका प्रशासनिक तथा कानुनी काम सहज हुने विश्वास गरिएको छ ।
नापजाँच सम्पन्न भएको लामो समयसम्म पनि दर्ता प्रक्रिया अघि बढ्न नसक्दा गाउँ ब्लक तथा स्ववासी जग्गाका अन्य बासिन्दासमेत पुर्जाको पर्खाइमा रहेका छन् ।
सम्बन्धित निकायले बाँकी जग्गाको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने स्थानीयको माग छ ।

