‘सिर्जना र योगदानले डा. विमललाई सधैँ जीवित राख्नेछ’

जनकपुरधाम, ०१ भदौ । प्रसिद्ध साहित्यकार तथा शिक्षाविद् डा. राजेन्द्र विमलको स्मृतिमा जनकपुरधाममा वृहत् श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
मैथिली विकास कोषको सभाहलमा आयोजित कार्यक्रममा सहभागी साहित्यकार, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले डा. विमलको व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरे ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले डा. विमल बहुभाषिक ज्ञान भएका विशिष्ट शिक्षाविद् तथा साहित्यकार रहेको बताए ।
नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा उनको गहिरो ज्ञान रहेको उल्लेख गर्दै उनीहरूले डा. विमलले शिक्षा र साहित्यका क्षेत्रमा पुर्याएको योगदान लामो समयसम्म स्मरणीय रहने बताए ।
डा. विमलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा नेपाली विषयको प्राध्यापकका रूपमा लामो समय सेवा गरेका थिए । उनले विभागीय प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै अवकाश लिएका थिए ।
साहित्यका माध्यमबाट समाजका विभिन्न पक्षलाई उजागर गर्न डा. विमलले महत्वपूर्ण भूमिका निर्वाह गरेको वक्ताहरूले बताए ।
नेपाली समाजका पीडा र सामाजिक यथार्थलाई प्रस्तुत गर्ने उद्देश्यले उनले ‘हँसा चलल प्रदेश’ टेलिफिल्म निर्माण गरेका थिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा तयार गरिएको ‘सीतायन’ निर्माणमा समेत उनको महत्वपूर्ण योगदान रहेको कार्यक्रममा स्मरण गरिएको थियो ।
बालबालिकालाई मैथिली भाषा सिकाउन उनले ‘बालपोथी’ लेखेका थिए भने समाजको सीमान्तकृत समुदायको जीवन र समस्यालाई विषयवस्तु बनाएर ‘भुइयाँ देवता’ नाटकको रचना गरेका थिए ।
उनले कथा, कविता लगायतका विभिन्न विधामा समेत उल्लेखनीय साहित्यिक सिर्जना गरेका थिए ।
वक्ताहरूले डा. विमलको भौतिक शरीर हामीमाझ नरहे पनि उनका सिर्जना, विचार र योगदानका कारण उनी सधैँ जीवित रहने धारणा व्यक्त गरे ।
साहित्य तथा शिक्षाको क्षेत्रमा पुर्याएको योगदानका लागि नेपाल सरकारबाट उनलाई विभिन्न सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको स्मरण गरिएको थियो ।
श्रद्धाञ्जली सभामा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्राज्ञ रामभरोस कापडि ‘भ्रमर’, साहित्यकार रोशन जनकपुरी, संविधानसभा सदस्य तथा साहित्यकार शीतल झा, मिथिला नाट्यकला परिषद् (मिनाप) का अध्यक्ष सुनील मल्लिक, पूर्वमेयर वृषेशचन्द्र लाल, साहित्यकार पूनम झा ‘मैथिल’ लगायत ठूलो संख्यामा साहित्यकार, शिक्षाविद् तथा साहित्यप्रेमीहरूको सहभागिता थियो ।
डा. राजेन्द्र विमलको साउन २६ गते बिहान निधन भएको थियो । उनको निधनसँगै नेपाली तथा मैथिली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक अग्रज साहित्यिक व्यक्तित्व गुमेको भन्दै कार्यक्रममा दुःख व्यक्त गरिएको थियो ।







