जनकपुरधाम, ३१ साउन । मिथिला विभूति तथा वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलको निधनप्रति मैथिली साहित्यकार सभा जनकपुरधामले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

साहित्यकार विमलको सतधनका अवसरमा मैथिली साहित्यकार सभाका तर्फबाट उनको जनकपुरधामस्थित देवीचोक निवासमा पुगेर ‘श्रद्धाञ्जलि तथा समवेदना पत्र’ परिवारजनलाई हस्तान्तरण गरिएको हो ।

सभाका संस्थापक सभापति प्रेम विदेह ‘ललन’, सभापति अरविन्दकुमार यादव र कार्यपाल अरुण आर्यले विमलका सुपुत्र आभास लाभ, सुपुत्री आभा अनुपमा, बुहारी प्राची लाभसहित परिवारका सदस्यलाई उक्त श्रद्धाञ्जलि तथा समवेदना पत्र हस्तान्तरण गरेका थिए ।

विमल मैथिली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका विशिष्ट साहित्यकार तथा मैथिली साहित्यकारहरूको मार्गदर्शकका रूपमा स्थापित थिए ।

मैथिली साहित्यको विकास र प्रवर्द्धनमा उहाँले पुर्‍याएको योगदानलाई स्मरण गर्दै साहित्यकारहरूले उनको निधनले मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

मैथिली साहित्यकार सभाले विमलको साहित्यिक योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।