सिमरा वितरण केन्द्रमा ७ अर्ब ८१ करोड बक्यौता, चार उद्योगकै ७ अर्ब २१ करोड

बारा, ३१ साउन । नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म उठाउनुपर्ने विद्युत् महसुल बक्यौता ७ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
वितरण केन्द्रले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार बक्यौताको ठूलो हिस्सा बारा–पर्सा औद्योगिक करिडोरका ठूला उद्योगको डेडिकेटेड तथा ट्रङ्क लाइन महसुलको रहेको छ ।
कुल बक्यौतामध्ये चार ठूला उद्योगबाट मात्रै ७ अर्ब २१ करोड रुपैयाँ उठाउन बाँकी रहेको सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतले जानकारी दिए ।
हुलास स्टिल, जगदम्बा स्टिल, अशोक स्टिल र हामा आइरनको डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल लामो समयदेखि बक्यौता रहँदै आएको हो ।
चार उद्योगमध्ये जगदम्बा स्टिलको बक्यौता सबैभन्दा बढी १ अर्ब ६० करोड रुपैयाँ रहेको वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा जगदम्बा स्टिलले एक किस्ता तथा अन्य तीन उद्योगले दुई–दुई किस्ता बक्यौता रकम बुझाएका थिए ।
तर, गत मंसिरदेखि उद्योगहरूले किस्ता बुझाउन छाडेको प्रमुख महतले बताए ।
‘बिचमा एकपटक पत्राचार भएको थियो, त्यसपछि कुनै प्रगति भएको छैन,’ उनले भभे ।
डेडिकेटेड तथा ट्रङ्क लाइनको ठूलो बक्यौताका कारण वितरण केन्द्रको विद्युत् महसुल असुली शतप्रतिशत हुन नसकेको प्राधिकरणले जनाएको छ ।
औद्योगिक ग्राहकबाट मात्रै सिमरा वितरण केन्द्रले वार्षिक करिब ४ अर्ब ६७ करोड रुपैयाँ राजस्व उठाउँदै आएको छ ।
विद्युत् बिक्री र राजस्व दुवै बढ्यो
बक्यौता ठूलो रहे पनि सिमरा वितरण केन्द्रको समग्र विद्युत् बिक्री र राजस्वमा भने वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा वितरण केन्द्रले ५ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ४ अर्ब ४२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
एक वर्षमा राजस्व करिब ७७ करोड १० लाख रुपैयाँले बढेको हो । विद्युत् खपतमा भएको वृद्धिका कारण राजस्व बढेको प्राधिकरणको भनाइ छ ।
आर्थिक वर्ष २०८१/०८२ मा ५७ करोड ३९ लाख युनिट विद्युत् बिक्री भएकोमा गत आर्थिक वर्ष २०८२/०८३ मा ६६ करोड ७४ लाख युनिट पुगेको छ ।
एक वर्षमा विद्युत् बिक्री ९ करोड ३४ लाख युनिटले बढेको प्रमुख महतले बताए ।
८८० नयाँ ग्राहक थपिए
सिमरा वितरण केन्द्रमा गत आर्थिक वर्ष ८८० जना नयाँ ग्राहक थपिएका छन् ।
यद्यपि, मिटर अभावका कारण अपेक्षाअनुसार नयाँ ग्राहक जोड्न नसकिएको प्राधिकरणले जनाएको छ ।
‘लगभग दुई हजारभन्दा बढी ग्राहक थपिनुपर्ने अवस्था थियो, तर मिटर अभावका कारण थोरैमात्र ग्राहक थपिएका छन्,’ महतले भने ।
वितरण केन्द्रअन्तर्गत बारा–पर्सा औद्योगिक करिडोरका उद्योगसहित करिब ४२ हजार उपभोक्ता आबद्ध छन् ।
यसको सेवा क्षेत्रअन्तर्गत बाराको निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिकाका १८ वडा तथा पर्साको वीरगञ्ज महानगरपालिकाका २९, ३१ र ३२ नम्बर वडा, पर्सागढी नगरपालिकाका ६ वडा र सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर १ रहेका छन् ।
विद्युत् चुहावट २.०६ प्रतिशतमा सीमित
सिमरा वितरण केन्द्रले विद्युत् लाइन काटेर गत आर्थिक वर्षमा ११ करोड ६० लाख रुपैयाँ बक्यौता असुल गरेको छ ।
वितरण केन्द्रअन्तर्गत विद्युत् चुहावटको दर भने २ दशमलव ०६ प्रतिशतमा सीमित रहेको प्राधिकरणले जनाएको छ ।
चुहावट नियन्त्रण तथा विद्युत् आपूर्ति सुधारका लागि ११ केभी लाइनको मर्मतसम्भार गरिएको छ ।
त्यस्तै, जीतपुरसिमरा–१६ पिलुवा सबस्टेसनदेखि जीतपुरसिमरा–४ औराहासम्म विशेष आर्थिक क्षेत्र (सेज) का लागि ३३ केभी प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ ।
सिमरा वितरण केन्द्रका अनुसार औद्योगिक क्षेत्रबाट हुने विद्युत् खपत बढ्दै जाँदा बिक्री र राजस्वमा वृद्धि भए पनि ठूला उद्योगको डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता असुली अझै प्रमुख चुनौतीका रूपमा रहेको छ ।

