कलभर्टको पर्खालबाट खसेर जमेको पानीमा डुब्दा बालिकाको मृत्यु

रौतहट, ३१ साउन । रौतहटको परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टको पर्खालबाट खाल्टोमा खसेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी पाँच वर्षीया छोरी फातमा खातुन रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार फातमा शनिबार बिहान बाख्रा चराउन घरबाट निस्किएकी थिइन् ।
बाख्रा चराउने क्रममा उनी कलभर्टको पर्खालबाट खाल्टोमा खसेर जमेको पानीमा डुबेकी थिइन् ।
बालिका पानीमा डुबेको देखेपछि स्थानीयवासीले तत्कालै उनलाई पानीबाट बाहिर निकालेका थिए ।
घटनाबारे बिहान करिब साढे ९ बजे प्रहरी चौकी रामपुरखापमा जानकारी पुगेको थियो ।
सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक धीरेन्द्रकुमार झाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनाको थप अनुसन्धान तथा आवश्यक मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा थप प्रहरी टोलीसमेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

