स्वर्गीय डा. विमलको सम्झनामा श्रद्धाञ्जली सभा

जनकपुरधाम, ३० साउन । वरिष्ठ साहित्यकार एवं प्राज्ञ प्रा.डा. राजेन्द्र विमलको निधन भएको पाँचौँ दिन उनको स्मृतिमा विकास पुरुष मकेश्वर बाबु सामाजिक प्रतिष्ठानले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी विभिन्न व्यक्तित्वले स्वर्गीय विमलप्रति श्रद्धाञ्जली अर्पण गर्दै मैथिली भाषा, साहित्य, शिक्षा तथा समाज रूपान्तरणका क्षेत्रमा उनले पुर्याएको योगदानको चर्चा गरे ।
सहभागीहरूले प्रा.डा. विमललाई साहित्यकारका रूपमा मात्र नभई नयाँ पुस्ताका लागि मार्गदर्शक र प्रेरणाको स्रोतका रूपमा स्मरण गरे ।
कार्यक्रममा उपस्थित साहित्यकार परमेश्वर कापडीले प्रा.डा. विमलको निधनले मैथिली साहित्य र बौद्धिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।
उनले विमलले आफ्नो जीवनभर भाषा, साहित्य र समाजका लागि गरेको योगदानलाई आगामी पुस्ताले संरक्षण र अनुसरण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, वरिष्ठ पत्रकार श्यामसुन्दर शशीले प्रा.डा. विमलको व्यक्तित्व बहुआयामिक रहेको चर्चा गर्दै उनको साहित्यिक तथा सामाजिक योगदानलाई संस्थागत रूपमा अभिलेखीकरण गर्न आवश्यक रहेको बताए ।
उनले विमलको विचार, लेखन र समाजप्रतिको दृष्टिकोण नयाँ पुस्ताका लागि समेत उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।
प्रतिष्ठानका अध्यक्ष रितेश सिंहले प्रा.डा. विमलको निधनले प्रतिष्ठानसहित सम्पूर्ण साहित्यिक तथा सामाजिक क्षेत्र शोकमा परेको बताए ।
उनले गुरुवर विमलले देखाएको बाटो र उनका योगदानलाई जीवन्त राख्न प्रतिष्ठानले आगामी दिनमा विभिन्न कार्यक्रम तथा गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय प्रा.डा. विमलको तस्बिरमा पुष्पगुच्छा तथा माला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
वक्ताहरूले उनको योगदानलाई स्मरण गर्दै परिवारजनप्रति समवेदना समेत प्रकट गरे ।






