झुलामा सीताराम, भजन कीर्तनले गुञ्जिँदै जनकपुरधाम
जनकपुरधाम, ३० साउन । मिथिलाञ्चलमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको झुलोनोत्सव पर्व आजदेखि सुरु भएको छ ।
साउन शुक्ल तृतीयादेखि सुरु हुने यो पर्व पूर्णिमासम्म विभिन्न मठमन्दिरमा विशेष उत्साहका साथ मनाइन्छ ।
झुलोनोत्सवका अवसरमा मठमन्दिरमा आकर्षक सिंहासन तथा गद्दी निर्माण गरी सजाइन्छ । त्यसमा भगवान् रामसीता, राधाकृष्णलगायत देवीदेवताका प्रतिमा राखेर साँझपख झुलाउने परम्परा रहेको छ ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासका अनुसार झुलोनोत्सवको शुरुवात मिथिलामा सन्त परम्पराको विकाससँगै भएको धार्मिक विश्वास छ ।
विगतमा सन्तहरू खुला चौर वा रुखको छहारीमा बास बस्दा झोलामा बोकेर ल्याएको शालिग्रामलाई आसनमा राखी झुलाउने गरेको जनविश्वास छ ।

त्यही परम्परा विस्तार हुँदै अहिले मिथिलाको प्रमुख सांस्कृतिक पर्वका रूपमा झुलोनोत्सव स्थापित भएको उनले बताए ।
मिथिलाका अधिकांश मठमन्दिरमा झुलोनोत्सव मनाइए पनि जनकपुरधामका मठमन्दिरमा यसको विशेष आकर्षण देखिन्छ ।
जानकी मन्दिरसहित विभिन्न मन्दिरमा साँझदेखि नै भगवान् सीताराम तथा राधाकृष्णलाई झुलामा राखेर झुलाउने कार्यक्रम हुने गरेको छ ।
उत्सव अवधिभर जनकपुरधामका मठमन्दिरमा धार्मिक अनुष्ठानसँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिन्छ ।
कतिपय मन्दिरमा नाटक, नाचगान, भजन कीर्तन तथा लोककथा वाचन गरिन्छ भने सजावट र झुलाको आकर्षणले भक्तजन तथा पर्यटकलाई समेत तान्ने गरेको छ ।
झुलोनोत्सवका क्रममा विभिन्न मठमन्दिरबीच झुला सजावट, धार्मिक प्रस्तुति र सांस्कृतिक कार्यक्रमका माध्यमबाट स्वस्थ प्रतिस्पर्धासमेत देखिने गरेको छ ।
यसले मिथिलाको मौलिक धार्मिक परम्परा, कला, संस्कृति र लोकजीवनलाई जीवन्त राख्न योगदान पुर्याउँदै आएको स्थानीय धार्मिक अगुवाहरूको भनाइ छ ।
जनकपुरधाममा झुलोनोत्सव सुरु भएसँगै मठमन्दिरहरूमा चहलपहल बढेको छ भने पर्वमा सहभागी हुन श्रद्धालु तथा दर्शनार्थीको आगमनसमेत बढ्न थालेको छ ।



