रौतहट, ३० साउन । भारतको झारखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटनामा परी मृत्यु भएका रौतहटका दुई दम्पतीको शनिबार अन्त्येष्टि गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका १२ वर्षीय बालकको शव भने उनका बुबा विदेशबाट फर्किएपछि अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीबाट बोलबम यात्राका लागि भारतको बाबाधाम गएका तीर्थयात्री सवार बस शुक्रबार बिहान झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु भएका गरुडा–६ पोठियाहीका ६५ वर्षीय नवलकिशोर चौधरी र उनकी ६२ वर्षीया श्रीमती सुन्दरकला देवीको शव भारतमा पोस्टमार्टमपछि शनिबार बिहान नेपाल ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बिहान करिब साढे ८ बजे शव नेपाल ल्याइएको हो ।

नेपाल ल्याइएका दम्पतीको शव झाँझ खोलास्थित शिवनगर घाटमा लगेर अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।

दम्पतीको शव एउटै फर्कीमा राखेर घरबाट घाटसम्म लगिएको थियो । अन्त्येष्टिस्थलमा इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी टोलीसमेत परिचालन गरिएको थियो ।

दुर्घटनामा मृत्यु भएका सोही स्थानका राजेश महतोका १२ वर्षीय छोरा शिवम महतोको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ ।

उनका बुबा रोजगारीका क्रममा विदेशमा रहेकाले उहाँ नेपाल फर्किएपछि मात्र बालकको अन्त्येष्टि गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

गत आइतबार गरुडा–६ पोठियाहीबाट बाबाधाम यात्राका लागि छुटेको ना.६ ख १५५४ नम्बरको बसमा करिब ४५ जना तीर्थयात्री सवार थिए ।

बासुकीनाथ दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा शुक्रबार बिहान करिब ३ बजे सतगावाँ क्षेत्रमा बस मालवाहक ट्रकसँग ठोक्किएको थियो । ठक्करबाट बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ ।

दुर्घटनालगत्तै सतगावाँ प्रहरीले घटनास्थलमा पुगेर घाइते तीर्थयात्रीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाएको थियो ।

प्रारम्भिक अनुसन्धानमा चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने आशङ्का गरिए पनि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री पोठियाहीकै रहेकाले घटनापछि गाउँ शोकमा डुबेको छ ।

दुर्घटनाको खबर पाएपछि मृतक तथा घाइतेका आफन्तहरू गाडी रिजर्भ गरी भारत पुगेका थिए ।