जनकपुरधाम, ३० साउन । जनकपुरधाम–१५ रामपुरस्थित रामपुर निःशुल्क शिक्षा केन्द्रका विद्यार्थीहरूले सामाजिक सेवाअन्तर्गत जानकी वृद्धाश्रममा सरसफाइ तथा खाजा वितरण कार्यक्रम सम्पन्न गरेका छन् ।

‘सेवा नै धर्म’ भन्ने नारासहित शनिबार बिहान वृद्धाश्रम पुगेका विद्यार्थीहरूले आश्रम परिसरको सरसफाइ गर्नुका साथै त्यहाँ रहेका वृद्धाहरूका लागि खाजा तयार गरी खुवाएका थिए । विद्यार्थीहरूले वृद्धाहरूलाई कपडासमेत वितरण गरेका थिए ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले वृद्धाश्रममा रहेका आमाहरूसँग समय बिताउँदै उनीहरूको जीवनका अनुभव र अवस्थाबारे जानकारीसमेत लिएका थिए ।

सामाजिक सेवामार्फत वृद्धवृद्धाप्रति सम्मान र सहयोगको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ ।

रामपुर निःशुल्क शिक्षा केन्द्रका संस्थापक ईश्वर दासले बालबालिकालाई औपचारिक शिक्षासँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र संस्कारको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको बताए ।

उनले पुस्तकमा सीमित ज्ञानभन्दा व्यवहारिक जीवनमा सेवा र सहयोगको भावना महत्वपूर्ण हुने भन्दै केन्द्रले विद्यार्थीमा सामाजिक जिम्मेवारीको भावना विकास गराउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

वृद्धाश्रममा गरिएको सरसफाइ, खाजा वितरण र कपडा सहयोगले विद्यार्थीहरूमा ज्येष्ठ नागरिकप्रति सम्मान तथा सामाजिक सेवाप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।