पर्सा, ३० साउन । वीरगन्जमा अनुमतिबिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरेको आरोपमा प्रहरीले एक फर्म सञ्चालकलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित आरपी फार्मास्युटिकल्स प्रालिमा प्रहरीले गरेको जाँच तथा खानतलासीका क्रममा अनुमतिबिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ भइरहेको पाइएको हो ।

प्रहरीले फर्म सञ्चालक राहुलकुमार चौहानलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगरको संयुक्त टोलीले फर्ममा जाँच तथा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा अनुमतिबिना उत्पादन तथा लेबलिङ गरिएका औषधिजन्य सामग्रीसहित अनुसन्धानका लागि आवश्यक अन्य प्रमाणसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चौहानलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले फर्मबाट बरामद सामग्रीको प्रकृति तथा उत्पादनसम्बन्धी अनुमतिलगायतका विषयमा थप अनुसन्धान गरिरहेको छ ।