मधेशमा रगत अभाव, दैनिक माग धान्नै कठिन
जनकपुरधाम, ३० साउन । जनचेतनाको कमी र रक्तदानप्रतिको गलत धारणाका कारण मधेश प्रदेशमा रगतको अभाव बढ्दै गएको छ ।
रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रमका कारण नियमित रक्तदाता बढ्न नसक्दा बिरामीलाई आवश्यक रगत जुटाउन रक्तसञ्चार केन्द्रहरूलाई कठिनाइ हुने गरेको हो ।
रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले शुक्रबार जनकपुरधामको जनक चोकमा आयोजित खुला रक्तदान कार्यक्रममा ४० पिन्ट रगत सङ्कलन भएको छ ।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ जनकपुरधामले मधेश रक्तसञ्चार सेवा मुजेलियासँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।
संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार यादवका अनुसार संघको स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ५० देखि ६० पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । तर, अपेक्षाअनुसार रगत सङ्कलन हुन सकेन ।
‘रक्तदानका लागि धेरै मानिस सहभागी हुनुभयो । तर, केहीले विभिन्न कारण देखाउँदै रक्तदान गर्नुभएन,
‘यादवले भने, ‘रगतको अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ ।’
स्वास्थ्यकर्मीका अनुसार रक्तदानसम्बन्धी भ्रम हटाउन र नियमित रक्तदानको संस्कार विकास गर्न अझै प्रभावकारी जनचेतनामूलक अभियान आवश्यक छ ।
विशेषगरी स्वस्थ व्यक्तिले निश्चित अन्तरालमा रक्तदान गर्दा शरीरमा कुनै गम्भीर कमजोरी नहुनेबारे आम नागरिकलाई जानकारी गराउनुपर्ने उनीहरूको भनाइ छ ।
मधेश रक्तसञ्चार सेवा मुजेलियामा दैनिक ३० देखि ३५ जनासम्म रगत लिन आउने गरेका छन् । तर, मागअनुसार रगत उपलब्ध गराउन नसक्ने अवस्था रहेको ल्याब टेक्निसियन श्रवजीत यादवले बताए ।
उनका अनुसार आकस्मिक अवस्थामा रगत आवश्यक परे सम्बन्धित ब्लड ग्रुपका दातालाई फोन गरेर बोलाई तत्काल रगत सङ्कलन गर्ने गरिएको छ । त्यसका लागि रक्तदाताको नाम र ब्लड ग्रुपसहितको छुट्टै सूचीसमेत राखिएको छ ।
‘आपतकालीन अवस्थामा आवश्यक ब्लड ग्रुपका डोनरलाई फोन गरेर बोलाउँछौँ र फ्रेस रगत उपलब्ध गराउँछौँ,’ उनले भने ।
नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा समेत रगतको मौज्दात न्यून रहेको छ । केन्द्रका अनुसार हाल २ देखि ४ पिन्ट मात्रै रगत स्टकमा रहने गरेको छ, जबकि दैनिक माग ४० देखि ५० पिन्टसम्म पुग्ने गरेको छ ।
बिरामीका आफन्त रगत लिन आउँदा आवश्यक ब्लड ग्रुपको रगत उपलब्ध गराउन दाता खोज्नुपर्ने अवस्था रहेको केन्द्रले जनाएको छ ।
कतिपय अवस्थामा स्थानीय रूपमा रगत जुटाउन नसकेपछि अन्य स्थानबाट समेत रगत मगाउनुपर्ने बाध्यता हुने गरेको छ ।
स्वास्थ्यकर्मीका अनुसार मधेशमा महिलाको रक्तदान सहभागिता पनि निकै न्यून छ ।
रक्तदानबारे विद्यमान भ्रम हटाउँदै महिला तथा युवालाई समेत नियमित रक्तदानका लागि प्रोत्साहित गर्न सके रगत अभावको समस्या केही हदसम्म समाधान गर्न सकिने उनीहरूको भनाइ छ ।
मधेशमा अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा विस्तारसँगै रगतको माग पनि बढिरहेको छ ।
दुर्घटना, प्रसूति, शल्यक्रिया, रक्तअल्पता तथा विभिन्न आकस्मिक उपचारका क्रममा रगत आवश्यक पर्ने भएकाले नियमित रक्तदानलाई निरन्तरता दिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
रक्तसञ्चार केन्द्रहरूमा मौज्दात कायम राख्न आकस्मिक रक्तदान कार्यक्रमभन्दा पनि नियमित र स्वैच्छिक रक्तदाता बढाउनेतर्फ सम्बन्धित निकाय र सामाजिक संघसंस्थाले दीर्घकालीन अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।


