मधेशको आर्थिक विकासमा नीति र उद्यमशीलतामाथि बहस

जनकपुरधाम, २९ साउन । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) जनकपुर अध्यायले आयोजना गरेको पहिलो सिकाइ सत्रमा मधेश प्रदेशको आर्थिक विकासका लागि स्पष्ट नीति, लगानीमैत्री वातावरण र युवा उद्यमशीलतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
‘मधेश २०३०: दृष्टि, नीति तथा आर्थिक वृद्धि’ विषयमा आयोजित कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामआशिष यादवले प्रदेशको समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले मधेशमा उपलब्ध प्राकृतिक स्रोत, कृषि, उद्योग, पर्यटन तथा मानव पुँजीको सदुपयोग गर्दै उत्पादन र रोजगारी बढाउनेतर्फ प्रदेशको नीति केन्द्रित हुनुपर्ने धारणा राखे ।
उद्यमी र लगानीकर्ताका लागि सहज वातावरण निर्माण गर्न नीतिगत सुधार, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
सभामुख यादवले युवा पुस्तालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा अघि बढाउन उद्यमशीलताको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
युवाको सिर्जनशीलता, सीप र प्रविधिको प्रयोगलाई आर्थिक विकाससँग जोड्न सके मधेशको सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न सकिने उनले बताए ।
कार्यक्रममा मधेशमा लगानीका सम्भावना, औद्योगिक विकास, पूर्वाधार, सार्वजनिक नीति, सुशासन तथा सरकार–निजी क्षेत्र सहकार्यका विषयमा समेत छलफल भएको थियो ।
सहभागी युवा उद्यमीहरूले प्रदेशमा व्यवसाय सञ्चालन गर्दा देखिएका समस्या, लगानीका अवसर तथा नीतिगत चुनौतीबारे सभामुख यादवसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका थिए ।
प्रश्नोत्तरले मधेशमा उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक नीति र आगामी कार्यदिशाबारे थप अन्तरक्रियाको अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
एनवाईईएफ जनकपुर अध्यायका अनुसार सिकाइ सत्र शृङ्खलाको पहिलो कार्यक्रमका रूपमा आयोजित उक्त कार्यक्रमले मधेशलाई उद्यमशील, लगानीमैत्री र आर्थिक रूपमा गतिशील प्रदेश बनाउने साझा दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण आधार तयार गरेको छ ।
मञ्चले आगामी दिनमा पनि युवा उद्यमी, नीति निर्माता तथा निजी क्षेत्रका सरोकारवालाबीच नियमित संवाद र ज्ञान आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।











