३९ ग्रामभन्दा बढी खैरो हिरोइनजस्तो पदार्थसहित युवक पक्राउ

जनकपुरधाम, २९ साउन । धनुषामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डल रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र बसिरहेको अवस्थामा मण्डललाई शंकास्पद रूपमा चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनको साथबाट डब्बासहित ६५.४४० ग्राम र डब्बा बाहेक ३९.३६० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागुऔषध नापतौल गर्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद गरेको छ ।
बरामद पदार्थसहित मण्डललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद पदार्थको वास्तविक प्रकृति तथा मात्रा परीक्षणपछि थप स्पष्ट हुनेछ ।

