धनुषामा १२ जना फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, २९ साउन । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये अधिकांश कुटपिट मुद्दाका प्रतिवादी रहेका छन् । उनीहरूलाई अदालतबाट जनही १ हजार ३ सय रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, एक जना प्रतिवादीलाई ३ हजार रुपैयाँ जरिवाना र अर्का एक जनालाई घरेलु हिंसा मुद्दामा ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका अन्य प्रतिवादीको समेत खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउ गरिएको जानकारी दिए ।

