सिरहा, २९ साउन । निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै विष्णुपुर गाउँपालिकाले एक निर्माण कम्पनीलाई ठेक्का किन अन्त्य नगर्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेको छ ।

गाउँपालिकाले शुक्रबार प्रथम पटक सूचना जारी गर्दै प्रशासकीय अधिकृत भवन निर्माणको ठेक्का पाएको विकास/राम जानकी जे.भी.लाई १५ दिनभित्र स्पष्ट र चित्तबुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको हो ।

गाउँपालिकाका अनुसार निर्माण व्यवसायीलाई पटकपटक लिखित तथा मौखिक रूपमा काम अघि बढाउन आग्रह गरिए पनि निर्माणको प्रगति अत्यन्त न्यून रहेको पाइएको छ ।

सम्झौताअनुसार काम सम्पन्न गर्नुपर्ने समयतालिका, माइलस्टोन तथा कामको क्रमागत प्राथमिकताअनुसार निर्माण अघि बढाउन ठेकेदार पक्षबाट पर्याप्त तदारुकता नदेखिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२क) बमोजिम ठेक्का अन्त्य किन नगर्ने भन्ने विषयमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्झौताको मर्म र कानुनी प्रावधानअनुसार प्रमाण तथा आधारसहित जवाफ पेस गर्न गाउँपालिकाले भनेको छ ।

त्यसैगरी, स्पष्टीकरण पेस गर्ने अवधिभित्रै निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन समेत निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ ।

तोकिएको समयभित्र उचित जवाफ नदिएमा वा निर्माण कार्यमा अपेक्षित सुधार नआएमा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा सम्झौताका सर्तअनुसार ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइने गाउँपालिकाले चेतावनी दिएको छ ।

गाउँपालिकाको यो कदमसँगै लामो समयदेखि सुस्त गतिमा अघि बढिरहेको प्रशासकीय अधिकृत भवन निर्माणले गति लिने विश्वास गरिएको छ ।