चोरीको मोटरसाइकलसहित भारतमा दुई नेपाली युवक पक्राउ

रौतहट, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लामा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन् ।
मोतीहारीको रामगढवा थाना क्षेत्रअन्तर्गत नारीरगिर चौकमा प्रहरीले नियमित सवारी जाँचका क्रममा दुई नेपाली युवकलाई पक्राउ गरेको हो ।
प्रहरीले एचएचडी मेसिन प्रयोग गरी मोटरसाइकल जाँच गर्दा त्यसको चेचिस नम्बर र रजिस्ट्रेसन नम्बरबीच फरक भेटिएको जनाएको छ ।
शंका लागेपछि प्रहरीले मोटरसाइकलमा सवार दुवै जनासँग सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा उक्त मोटरसाइकल चोरीको रहेको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बाराको कलैया नगर क्षेत्रअन्तर्गत बैराठापुरका हरिनारायण सिंहका छोरा आदित्य सिंह र पर्साको वीरगञ्ज नगर क्षेत्रअन्तर्गत बहुवरीका रमेश गिरीका छोरा शिवानन्द गिरी रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना नेपाली नागरिक हुन् ।
उनीहरूलाई नियन्त्रणमा लिएर मोटरसाइकलको स्रोत, चोरी भएको स्थान तथा घटनामा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ ।
भारतीय प्रहरीले दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

