जनकपुरधाम, २९ साउन । धनुषामा खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

नगराइन नगरपालिका–८ खिरखिरियास्थित खेतमा बिहीबार साँझ पानी लगाउने क्रममा करेन्ट लाग्दा स्थानीय २५ वर्षीय सितेश कुमार दास गम्भीर घाइते भएका थिए ।

करेन्ट लागेर घाइते दासलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार खेतमा पानी लगाउन प्रयोग गरिएको विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।