जनकपुरधाम, २९ साउन । मिटरब्याजसम्बन्धी आरोपमा पक्राउ परेका धनुषाका तीन जना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

धनुषा जिल्ला अदालतको आदेशपछि जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी भाइबुहारी ४८ वर्षीया रेखा साह र रेखाका ३२ वर्षीय छोरा हरेराम साहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

मिटरब्याजको आरोपमा उनीहरूविरुद्ध परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानपछि उनीहरूलाई अदालतमा उपस्थित गराइएकोमा अदालतले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतको आदेशसँगै तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार पठाइएको जनाइएको छ ।

मुद्दाको अन्तिम फैसला भने अदालतबाट हुन बाँकी छ ।