जनकपुरधाम, २९ साउन । धान उत्पादनका लागि अग्रणी मानिने मधेश प्रदेशमा साउनको अन्तिम सातासम्म ९७.७१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

पर्याप्त वर्षा नभए पनि पटकपटक भएको सामान्य वर्षा तथा सरकारी र निजी सिँचाइ प्रणालीको उपयोग गर्दै किसानले धान रोपाइँलाई तीव्रता दिएका हुन् ।

कृषि विकास निर्देशनालयका अनुसार साउन २८ गतेसम्म प्रदेशमा धान खेती हुने ३ लाख ८२ हजार ४ सय ३३ हेक्टरमध्ये ३ लाख ७३ हजार ६ सय ९३.२९ हेक्टरमा रोपाइँ सकिएको छ ।

मधेश प्रदेशका सिरहा र बारा जिल्लामा भने धान खेती हुने कुल क्षेत्रफलमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले जानकारी दिए ।

प्रदेशका जिल्लाहरूमा वर्षेनी करिब ५ लाख ५२ हजार ७ सय ४५ हेक्टर क्षेत्रफलमा विभिन्न बालीको खेती हुँदै आए पनि धान खेतीका लागि ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफल प्रयोग हुँदै आएको छ ।

जिल्लागत रूपमा सबैभन्दा कम रोपाइँ महोत्तरीमा भएको छ । महोत्तरीमा धान खेती हुने ४० हजार हेक्टरमध्ये हालसम्म ३४ हजार ७ सय २१ हेक्टरमा मात्र रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ८६.७० प्रतिशत हो ।

सप्तरीमा ६८ हजार हेक्टरमध्ये ६४ हजार ६ सय हेक्टरमा अर्थात् ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धनुषामा ४३ हजार ७ सय हेक्टरमध्ये ४१ हजार ५ सय १५ हेक्टरमा रोपाइँ भएको छ । धनुषामा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।

त्यस्तै, सर्लाहीमा धान खेती हुने ४२ हजार ६ सय ९५ हेक्टरमध्ये ४२ हजार २ सय ६८.०५ हेक्टरमा रोपाइँ भएको छ । सर्लाहीमा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

रौतहटमा ३८ हजार ५ सय हेक्टरमध्ये ३७ हजार ७ सय ३० हेक्टरमा रोपाइँ भएको छ । यहाँ ९८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । पर्सामा पनि ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

पर्सामा धान खेती हुने ५३ हजार ९ सय ३८ हेक्टरमध्ये ५२ हजार ८ सय ५९.२९ हेक्टरमा रोपाइँ भएको निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीले जानकारी दिए ।

समयमै पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँ प्रभावित हुने अनुमान गरिए पनि पछिल्लो समय भएको वर्षा र सिँचाइ सुविधाको प्रयोगले रोपाइँको अवस्था उत्साहजनक बनेको कृषि अधिकारीहरूको भनाइ छ ।

अझै बाँकी रहेको क्षेत्रफलमा समेत रोपाइँ पूरा गर्ने प्रयास भइरहेको निर्देशनालयले जनाएको छ । रोपाइँको प्रगति उच्च रहे पनि धान उत्पादनका लागि आगामी दिनमा वर्षाको अवस्था, सिँचाइ सुविधा, रोग कीरा तथा मौसमको प्रभाव महत्वपूर्ण हुने कृषि विज्ञहरूको भनाइ छ ।