जनकपुरधाम, २८ साउन । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्ला अदालत धनुषाबाट फैसला कार्यान्वयनका क्रममा विभिन्न मुद्दामा सजाय तोकिएका तर वारदातपछि फरार रहेका प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये चार जना लागुऔषध मुद्दा, चार जना सवारीसम्बन्धी मुद्दा र एक जना सवारी ज्यान मुद्दाका प्रतिवादी रहेका छन् ।

प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा एक जनालाई १९ दिन कैद र ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । यस्तै, लागुऔषध मुद्दामा सजाय पाएका प्रतिवादीलाई १ महिनादेखि १ महिना २० दिनसम्म कैद तोकिएको थियो ।

सवारीसम्बन्धी मुद्दामा पक्राउ परेका चार जनामध्ये एक जनालाई १८ दिन कैद तथा २ हजार रुपैयाँ जरिवाना, तीन जनालाई क्रमशः २५ दिन कैद तथा २ हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अर्को लागुऔषध मुद्दाका एक प्रतिवादीलाई १ महिना १८ दिन कैद, तथा एक जनालाई १ महिना २० दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको जानकारी दिएका छन् ।