जनकपुरधाम, २८ साउन । जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका १८१ जना विवाहित महिलालाई सिलाइ मेसिनसहित टेलरिङ व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।

जानकी महिला जागरण समाजको आयोजना तथा स्ट्रीट चाइल्ड अफ नेपालको आर्थिक सहयोगमा सञ्चालित ‘She Leads’ परियोजना अन्तर्गत उनीहरूलाई उक्त सामग्री प्रदान गरिएको हो ।

परियोजनाअन्तर्गत यस वर्ष जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ७, १६, १७, १८, १९, २०, २१ र २३ गरी आठवटा वडाका ५०० जना सहभागीमध्ये १९ देखि २५ वर्ष उमेर समूहका १८१ जना विवाहित महिलाले सिलाइ मेसिनसहित टेलरिङ व्यवसायका लागि आवश्यक सामग्री प्राप्त गरेका छन् ।

परियोजनाले महिलालाई सीप सिकाएर रोजगारी खोज्नेभन्दा आफ्नै व्यवसाय सञ्चालन गरी आयआर्जन गर्न सक्षम बनाउने उद्देश्य लिएको जानकी महिला जागरण समाजले जनाएको छ ।

सिलाइ मेसिन प्राप्त गर्ने महिलाले घरमै वा स्थानीय बजारमा टेलरिङ व्यवसाय सञ्चालन गरी आम्दानी गर्न सक्ने विश्वास गरिएको छ ।

जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दाकिनी कर्णले महिलालाई सीप र साधन दुवै उपलब्ध गराएर आत्मनिर्भर बनाउने अभियानअन्तर्गत परियोजना सञ्चालन गरिएको बताइन् ।

उनका अनुसार सबै महिलाको आवश्यकता एउटै हुँदैन भन्ने कुरालाई ध्यानमा राख्दै परियोजनाले लाभग्राहीलाई आफूले सञ्चालन गर्न चाहेको व्यवसायअनुसार सहयोग उपलब्ध गराउँदै आएको छ ।

‘महिलालाई तालिम दिएर मात्र पुग्दैन, तालिमपछि व्यवसाय सञ्चालन गर्न आवश्यक साधन र सामग्री पनि उपलब्ध गराउनुपर्छ । त्यसैले लाभग्राहीको रुचि र आवश्यकताका आधारमा सहयोग प्रदान गर्दै आएका छौँ,’अध्यक्ष कर्णले भनिन् ।

परियोजना गत वर्ष पनि जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडामा सञ्चालन भएको थियो । गत वर्ष ४२३ जना दलित, आदिवासी तथा सीमान्तकृत समुदायका लाभग्राही परियोजनामा सहभागी भएका थिए । तीमध्ये ११९ जना विवाहित महिलाले सिलाइ मेसिनको माग गरेपछि उनीहरूलाई सिलाइ मेसिन उपलब्ध गराइएको थियो ।

जानकी महिला जागरण समाजका अनुसार परियोजनाको दुई वर्षे अवधिमा कुल ९२३ जना सहभागी भएका छन् । त्यसमध्ये करिब ३०० जनाले सिलाइ मेसिनको माग गरेका छन् भने बाँकी करिब ६०० जना महिलाले बाख्रा, सुँगुर तथा गाईपालन, किराना पसल सञ्चालनलगायतका विभिन्न व्यवसायका लागि आवश्यक सामग्री माग गरेका छन् ।

यसले परियोजनामा सहभागी महिलाको प्राथमिकता र आर्थिक आवश्यकता फरक फरक रहेको देखाएको छ । त्यसैले परियोजनाले एउटै प्रकारको सहयोगभन्दा लाभग्राहीको रोजाइ र स्थानीय आवश्यकताअनुसार स्वरोजगारमुखी सामग्री उपलब्ध गराउने नीति लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले महिलाको आर्थिक सशक्तीकरणबिना स्थानीय तहको समग्र विकास सम्भव नहुने बताए ।

उनले सीपमूलक कार्यक्रमलाई व्यवसाय र आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिँदै स्थानीय तहले यस्ता कार्यक्रमलाई आवश्यक सहजीकरण गर्ने बताए ।

‘महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमले परिवारको आर्थिक अवस्था सुधार्नुका साथै समाजको समग्र विकासमा योगदान पुर्‍याउँछ । तालिमपछि प्राप्त सीपलाई व्यवहारमा उतार्न आवश्यक सामग्री उपलब्ध गराउनु सकारात्मक पक्ष हो,’नगर प्रमुख साहले भने ।

उनले लाभग्राहीले प्राप्त गरेका सामग्रीलाई व्यवसाय सञ्चालनमा प्रयोग गरी नियमित आम्दानीको स्रोत बनाउनुपर्नेमा जोड दिए । स्थानीय तह, गैरसरकारी संस्था तथा सहयोगी निकायबीचको सहकार्यबाट महिला उद्यमशीलता प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।

परियोजनाले विशेषगरी दलित, आदिवासी, सीमान्तकृत तथा आर्थिक रूपमा कमजोर समुदायका महिलालाई लक्षित गर्दै सीप विकास र स्वरोजगारका अवसर सिर्जना गर्ने प्रयास गरेको छ ।

सिलाइ मेसिन, पशुपालन तथा किराना पसललगायतका व्यवसायका लागि सामग्री उपलब्ध गराइएपछि लाभग्राही महिलाहरूको आयआर्जनमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास गरिएको छ ।