मधेशमा एक वर्षमा ७५ करोडभन्दा बढीको अवैध सामान बरामद

जनकपुरधाम, २८ साउन । सशस्त्र प्रहरीले मधेश प्रदेशका आठवटै जिल्लामा सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका क्रममा एक वर्षमा ७५ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।
छिन्नमस्ता बाहिनीअन्तर्गत परिचालित सशस्त्र प्रहरीको टोलीले आर्थिक वर्ष २०८२/८३ मा ७५ करोड २८ लाख ४५ हजार ४७६ रुपैयाँ २० पैसा बराबरका अवैध सामान बरामद गरेको हो ।
बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकाय तथा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी मधेश प्रदेशका प्रवक्ता एसएसपी सुभाष भण्डारीका अनुसार भारतबाट भन्सार छली नेपाल भित्र्याइएका कपडा, किराना सामग्री, हार्डवेयरलगायत विभिन्न वस्तु बरामद भएका छन् ।
यस्तै, तेस्रो मुलुकबाट नेपाल हुँदै भारततर्फ चोरी लुकी लैजान खोजिएको ठूलो परिमाणको तरबुजाको बीउसमेत नियन्त्रणमा लिइएको उनले बताए ।
सीमा क्षेत्रमा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन पछिल्लो समय गस्ती, निगरानी र सूचना संकलन प्रणालीलाई थप सक्रिय बनाइएको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल–भारत सीमामा हुने अवैध ओसारपसारसँगै सीमापार आपराधिक गतिविधिमाथि समेत निगरानी बढाइएको छ ।
मधेश प्रदेशमा डीआईजी विष्णुप्रसाद भट्टले नेतृत्व सम्हालेपछि सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै अवैध गतिविधिविरुद्ध कडाइ गरिएको सशस्त्र प्रहरीको भनाइ छ । नियमित गस्तीका साथै विशेष अभियान सञ्चालन गरी तस्करी नियन्त्रणमा जोड दिइएको छ ।
सशस्त्र प्रहरीका अनुसार तस्करी तथा अवैध गतिविधिमा संलग्न व्यक्तिसँग मिलेमतो गर्ने सुरक्षाकर्मीमाथि समेत कारबाही प्रक्रिया अघि बढाइएको छ ।
आर्थिक प्रलोभनमा परी संगठनको नीति र जिम्मेवारीविपरीत काम गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी नेतृत्वले दिएको छ ।

