जनकपुरधाम, २८ साउन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा एउटा पक्की पुल निर्माणका लागि ठेक्का लागेको सात वर्ष बितिसक्दा पनि आयोजना अधुरै रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा पर्ने दुधमती खोलाको पुल निर्माणमा भएको ढिलाइले पूर्वाधार विकासमा देखिएको बेथितिको उदाहरण प्रस्तुत गरेको छ ।

ढल्केबर–जनकपुर–जटही ६ लेन सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि सोही सडकखण्डमा पर्ने दुधमती खोलाको पुल निर्माण पूरा हुन सकेको छैन ।

जनकपुरधामलाई भारतसँग जोड्ने भिट्ठामोड, मटिहानी र जटही नाकासम्मको आवागमन तथा व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण मानिएको सडकमा पुल नबन्दा त्यसको पूर्ण लाभ स्थानीय तथा यात्रुले लिन सकेका छैनन् ।

स्थानीयका अनुसार पछिल्ला चार वर्षयता पुल निर्माणस्थलमा कुनै उल्लेख्य काम भएको छैन । निर्माणका लागि राखिएका फलामे डण्डीमा खिया लागेको छ भने पुल वरिपरि झारपात उम्रिएर क्षेत्र नै खण्डहरजस्तो देखिन थालेको छ । निर्माणस्थलमा राखिएका जेसीबी, ट्र्याक्टर तथा करिब १५ देखि २० टन फलामे सामग्रीसमेत लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् ।

निर्माण सामग्रीको सुरक्षाका लागि पुल क्षेत्रमा चौकीदार राखिएको छ । यसअघि पुल निर्माणस्थलको छेउबाट बनाइएको डाइभर्सनमार्फत पैदलयात्रु, साइकल तथा मोटरसाइकल आवतजावत गर्ने गरेका थिए ।

तर, वर्षायाम सुरु भएपछि डाइभर्सनमा पानीको सतह बढ्दा पछिल्लो दुई–तीन सातादेखि सामान्य आवतजावतसमेत बन्द भएको छ । यसको प्रत्यक्ष मारमा स्थानीय विद्यार्थी तथा सर्वसाधारण परेका छन् । पुलको वारिपारि रहेका विद्यालय तथा क्याम्पसमा जाने विद्यार्थीलाई घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

स्थानीय मुकेश कापरका अनुसार पहिले डाइभर्सनबाट आवतजावत गर्न सकिने भए पनि अहिले पानी बढेपछि त्यो बाटोसमेत बन्द भएको छ । उनका अनुसार विद्यार्थीलाई क्याम्पस तथा अन्य गन्तव्यमा पुग्न थप दूरी पार गर्नुपर्ने अवस्था छ ।

डाइभर्सनमा पानी जमेको कारण मोटरसाइकलबाट यात्रा गर्नेहरू पनि जोखिममा छन् । बर्होवाबाट जनकपुरधामको जिरोमाइलतर्फ जाँदै गरेका अब्दुल सदाम डाइभर्सनमा जमेको पानीका कारण मोटरसाइकल फर्काउने क्रममा लडे । पुलतर्फ जाने सडकको अवस्था तथा खाल्डाखुल्डीका कारण मोटरसाइकलको सन्तुलन गुमेको उनको भनाइ छ ।

‘६ लेनको सडक राम्रो बनेको छ । तर, एउटा पुल नबन्दा त्यसको उपयोग नै गर्न कठिन भएको छ,’सदामले गुनासो गरे, ‘ठेक्का लिएर आधा काम गरेपछि आयोजना अलपत्र पार्नेलाई सरकारले कारबाही गर्नुपर्छ । अहिले जिरोमाइल पुग्नसमेत घुमाउरो बाटोबाट थप तीन–चार किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ ।’

सात वर्षमा पनि पूरा भएन काम
दुधमती खोलामा पुल निर्माणका लागि २०७६ जेठ २५ गते नागार्जुन हेम जेबीले १३ करोड ९५ लाख ६४ हजार ३ सय ३८ रुपैयाँमा ठेक्का पाएको थियो ।

सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि सरकारले पटकपटक म्याद थप गरेको थियो ।

पछिल्लो पटक २०८२ माघ १७ गतेसम्म निर्माण सम्पन्न गर्ने समयसीमा दिइएको थियो । तर, उक्त अवधिसम्म पनि निर्माण पूरा नभएपछि सडक डिभिजन कार्यालय जनकपुरले २०८३ असार २६ गते सूचना प्रकाशित गरी ठेक्का सम्झौता रद्द गरेको हो ।

सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख दारोगा प्रसादका अनुसार ठेक्का रद्द गरेपछि ठेकेदारबाट रकम असुलीका लागि अदालतमा मुद्दासमेत दायर गरिएको छ ।

उनका अनुसार पुल पुनः निर्माणका लागि आवश्यक लागत अनुमानसहितको प्रक्रिया पूरा गरी फाइल सम्बन्धित निकायमा पठाइसकिएको छ ।

मन्त्रालयस्तरबाट प्रक्रिया अघि बढिरहेको र आगामी असोजभित्र नयाँ ठेक्का लाग्ने सम्भावना रहेको उनले बताए ।

‘पुलको अनुगमन तथा निरीक्षण गरेर लागत तयार गरी माथि पठाएका छौँ । मन्त्रालयबाट प्रक्रिया अघि बढिरहेको छ । सम्भवतः असोजभित्र नयाँ ठेक्का लाग्छ,’उनले भने ।

धनुषामा ६ ठेक्का रद्द
सडक डिभिजन कार्यालय जनकपुरका अनुसार धनुषामा तोकिएको समयभित्र काम सम्पन्न नगरी आयोजना अलपत्र पार्ने विभिन्न निर्माण कम्पनीका ६ वटा ठेक्का सम्झौता रद्द गरिएको छ ।

नागार्जुन हेम जेबीका मात्रै तीनवटा ठेक्का रद्द भएका छन् । त्यस्तै, सडक तथा पुल सुधारको ठेक्का पाएका स्काई कन्ट्रक्सन एण्ड सप्लायर्स, बाबा बुद्धेश्वरनाथ कन्ट्रक्सन कम्पनी र चुरे कन्ट्रक्सन एण्ड सप्लायर्सका ठेक्का पनि रद्द गरिएको कार्यालयले जनाएको छ ।

रद्द भएका आयोजनाका लागि पुनः ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । कार्यालयले असोजभित्रै पुनः ठेक्का प्रक्रियालाई अगाडि बढाउने योजना बनाएको जनाएको छ ।

वर्षौँदेखि विकास आयोजनाहरू अलपत्र पर्दा राज्यको लगानी खेर जाने मात्र नभई स्थानीयले समेत त्यसको प्रत्यक्ष मूल्य चुकाउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

नयाँ सरकारले विकास निर्माणका कामलाई तीव्रता दिने तथा लापरवाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने नीति अघि सारेकाले अब दुधमती पुलको निर्माणले गति लिनेमा स्थानीय आशावादी छन् ।