स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ

सर्लाही, २८ साउन । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उक्त रकम हुण्डी कारोबारका लागि भारतबाट सर्लाहीतर्फ ल्याउँदै गरिएको आशंका गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतो रहेका छन् ।
प्रहरीका अनुसार भारतबाट सर्लाहीको बयलबासतर्फ हुण्डी कारोबारको रकम लिएर स्कुटरमा आउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरनजिकै उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ज.१० प ८६५२ नम्बरको स्कुटर रोकेर जाँच गर्दा चालक महतोले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको ठूलो परिमाणको नेपाली रुपैयाँ फेला परेको थियो ।
प्रहरीका अनुसार बरामद रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५ सय रुपैयाँ दरका ३ हजार १०८ थान, १ सय रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट रहेका छन् ।
सबै नोटको कुल मूल्य ५१ लाख ३४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नगदसँगै प्रहरीले महतोले प्रयोग गरेको स्कुटर र एउटा मोबाइल फोनसमेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार बरामद रकमको स्रोत तथा कारोबारको प्रकृतिबारे अनुसन्धान भइरहेको छ ।
महतोमाथि हुण्डी कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

