जनकपुरधाम, २८ साउन । करिब एक महिनादेखि रोकिएको नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा जनकपुरधाममा पुनः सुरु भएको छ ।

मधेस प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालय जनकपुरले अनलाइनमार्फत फारम भरी राजस्वसमेत बुझाएका सेवाग्राहीका लागि परीक्षा सञ्चालन थालेको हो ।

कार्यालयले एक सूचना जारी गर्दै ‘ए’ र ‘के’ वर्गको सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका परीक्षार्थीलाई परीक्षामा सहभागी हुन आह्वान गरेको थियो ।

कार्यतालिकाअनुसार बिहीबार लिखित तथा शुक्रबार प्रयोगात्मक परीक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ ।

कार्यालयका वरिष्ठ शाखा अधिकृत चन्देश्वर साहका अनुसार हाल ‘ए’ र ‘के’ वर्गको मात्र परीक्षा सञ्चालन गरिएको छ । अन्य वर्गका सवारी चालक अनुमतिपत्रका लागि भने पछि छुट्टै सूचना जारी गरिनेछ ।

उनका अनुसार यातायात व्यवस्था विभागको सर्भर अपडेट भएपछि ठूला तथा साना सवारीसम्बन्धी अधिकांश सेवा सामान्य अवस्थामा फर्किए पनि सवारी चालक अनुमतिपत्रको प्रणालीमा अझै केही प्राविधिक समस्या देखिएका छन् ।

‘लाइसेन्सको काममा आंशिक समस्या समाधान भएको छ । तर, केही समस्या अझै यथावत छन् । यसबारे विभागसँग जुम मिटिङमार्फत जानकारी गराएका छौँ । विभाग पनि समस्या समाधानका लागि केन्द्रित भएको छ,’साहले भने ।

नयाँ प्रणालीमा आवेदन गर्दा ओटीपी नआउने तथा ‘ए’ वर्गको लाइसेन्स लिन आवेदन दिँदा प्रणालीमा बी वा सी वर्ग देखिने जस्ता समस्या देखिएको कार्यालयले जनाएको छ ।

प्रयोगात्मक परीक्षा सम्पन्न भएपछि मात्र नयाँ प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा आएको वा थप सुधार आवश्यक रहेको विषय स्पष्ट हुने साहको भनाइ छ ।

पुरानो सवारी चालक अनुमतिपत्र नवीकरणमा समेत केही प्राविधिक समस्या आउने गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बिहीबारको लिखित परीक्षामा ८५ जना परीक्षार्थी सहभागी भएका छन् । वर्ग थपका लागि आवेदन दिएका परीक्षार्थीले आफ्नो सवारी चालक अनुमतिपत्रसमेत साथमा ल्याउनुपर्ने कार्यालयले जनाएको छ ।

त्यस्तै, प्रयोगात्मक परीक्षाका लागि आवश्यक सवारीसाधनको व्यवस्था परीक्षार्थी आफैँले गर्नुपर्नेछ ।

यसअघि यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि गत असार २९ गतेदेखि नयाँ सवारी चालक अनुमतिपत्र तथा नवीकरणलगायतका सेवा प्रभावित भएका थिए ।

विभागीय सर्भरबाटै डाटा अद्यावधिक गर्नुपर्ने भएकाले जनकपुरस्थित यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने लाइसेन्ससम्बन्धी सेवा लामो समयसम्म ठप्प भएको थियो ।

सेवा अवरुद्ध भएपछि दैनिक सयौँ सेवाग्राही यातायात व्यवस्था कार्यालय पुगेर सेवा नपाई फर्किन बाध्य भएका थिए ।

करिब एक महिनापछि परीक्षा पुनः सुरु भएपछि नयाँ लाइसेन्सका लागि आवेदन दिएका सेवाग्राहीलाई केही राहत भएको छ ।

यद्यपि, नयाँ प्रणालीमा देखिएका प्राविधिक समस्या पूर्ण रूपमा समाधान नभएकाले सेवाग्राहीले अझै सहज रूपमा सेवा पाउन केही समय लाग्ने देखिएको छ ।