सर्लाही, २८ साउन । सर्लाहीको मलंगवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र एक शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

विद्यालयमा लामो समयदेखि अनुपस्थित रहेकी शिक्षिकाको फर्जी हाजिरी तयार गरी गैरकानुनी रूपमा तलब निकासा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र तत्कालीन प्राथमिक द्वितीय श्रेणीकी शिक्षिका प्रियंका कुमारी सिंहविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै प्रतिवादीबाट जनही ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा बिगो कायम गरी कानुनबमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ ।

आयोगको अनुसन्धानअनुसार शिक्षिका सिंह वि.सं. २०७९ वैशाखदेखि कात्तिक १८ गतेसम्म कुनै औपचारिक सूचना वा निवेदन नदिई विद्यालयमा अनुपस्थित रहेकी थिइन् ।

शिक्षा ऐनअनुसार मनासिव कारणबिना लामो समयसम्म अनुपस्थित रहने शिक्षकविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने भए पनि तत्कालीन प्रधानाध्यापक यादवले उनको हाजिरी रजिस्टर खाली राखेका थिए ।

पछि शिक्षिका विद्यालयमा उपस्थित भएपछि अनुपस्थित अवधिको समेत एकमुष्ठ हाजिरी गराइएको र सो हाजिरीमा टिपेक्स लगाई अभिलेख सच्याएर पुनः हाजिर देखाइएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

सोही संशोधित हाजिरी तथा बिदाको अभिलेखका आधारमा मलंगवा नगरपालिकाबाट शिक्षिकाको तलब निकासा गरिएको आयोगको दाबी छ ।

अनुसन्धानमा सिंह अनुपस्थित रहेको अवधिको साउनदेखि कात्तिकसम्म २ लाख ४० हजार ९१४ रुपैयाँ तथा वैशाख, जेठ र असार महिनाको १ लाख ३० हजार १२१ रुपैयाँ गरी कुल ३ लाख ७१ हजार ३६ रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी भएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

सरकारी कागजातमा अनधिकृत रूपमा हेरफेर गरी सरकारी रकम हिनामिना, हानि नोक्सानी तथा दुरुपयोग गरेको पुष्टि भएपछि दुवैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियारले प्रतिवादीहरूबाट हिनामिना भएको ३ लाख ७१ हजार ३६ रुपैयाँ बिगो असुलउपर गरी ऐनबमोजिम कैद तथा जरिवाना सजाय गर्न विशेष अदालतसमक्ष मागदाबी गरेको छ ।