विभिन्न मुद्दाका ७ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, २७ साउन । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट खोजतलास गरी पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये लागूऔषध मुद्दाका एक जनालाई दुई महिना कैद सजाय तोकिएको थियो । चोरी मुद्दाका एक जनालाई २५ दिन कैद र २ हजार जरिवाना तथा सवारी ज्यान मुद्दाका एक जनालाई १९ दिन कैद र १ लाख ६५ हजार जरिवाना तोकिएको थियो ।
त्यस्तै, सवारी अंगभंग मुद्दामा एक जनालाई ३ हजार जरिवाना र वन पैदावार मुद्दामा एक जनालाई १५ दिन कैद तथा ९४ हजार १३६ जरिवाना तोकिएको थियो ।
पक्राउ परेका अन्य दुई जना पनि सवारी ज्यान मुद्दामा अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको जानकारी दिए ।
प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

