‘भान्सा रोकिँदा के जलाऊँ?’ भन्दै ग्यास अभावप्रति युवाको आक्रोश

जनकपुरधाम, २७ साउन । जनकपुरधामका युवा कुलदीप साह मधेशीले बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा सरकारसँग ग्यासको सहज आपूर्तिको माग गरेका हुन् ।
साहले प्रधानमन्त्री वालेन शाहलाई सम्बोधन गर्दै,’तपाइँको पत्नी सवार गाडी रोक्दा सिंहदरबार नै जलाउने धम्की दिइयो, मेरो भान्सा रोक्दा के जलाऊँ ?’ भन्दै प्रश्न गरेका छन् ।
उनले ग्यास अभावका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भइरहेको भन्दै तत्काल ग्यास उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
‘ग्यास उपलब्ध गराउ सरकार 🙏’ भन्दै साहले आफ्नो गुनासो सार्वजनिक गरेका हुन् । उनले पोस्टमा #GasCylinder, #scarcity र #Hellosarkar लगायतका ह्यासट्याग प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत ट्याग गरेका छन् ।
जनकपुरधामसहित देशभर पछिल्लो समय खाना पकाउने एलपी ग्यासको सहज उपलब्धता नहुँदा उपभोक्ता समस्यामा परेका छन् ।
ग्यासको खोजीमा उपभोक्ताहरू विभिन्न डिपो तथा विक्रेताकहाँ धाउनुपर्ने अवस्था रहेको गुनासो बढेको छ ।

