जनकपुरधाम, २७ साउन । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशमा प्रहरी समायोजनको प्रक्रिया तत्काल अघि बढाउन संघीय गृहमन्त्री सुदन गुरुङसँग आग्रह गरेका छन् ।

गृह मन्त्रालयमा बुधबार भएको भेटवार्तामा मुख्यमन्त्री यादवले मधेश प्रदेशको पछिल्लो शान्ति सुरक्षाको अवस्था, प्रदेश प्रहरी संरचना तथा संघ र प्रदेशबीचको समन्वयलगायत समसामयिक विषयमा गृहमन्त्री गुरुङसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा मुख्यमन्त्री यादवले संविधानले प्रदेशलाई दिएको अधिकार कार्यान्वयन गर्दै प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र अगाडि बढाउन संघ सरकारसँग आग्रह गरेका हुन् ।

उनले प्रहरी समायोजनसहित प्रदेशका अधिकार कार्यान्वयन भएपछि मात्रै संघीयताको मर्मअनुसार प्रादेशिक संरचना थप बलियो बन्ने बताए ।

जनकपुरधाममा प्रधानमन्त्रीले निर्वाचनका क्रममा व्यक्त गरेको प्रतिबद्धता स्मरण गराउँदै मुख्यमन्त्री यादवले प्रदेशको संस्थागत सुदृढीकरणका लागि आवश्यक कानुनी तथा प्रशासनिक काम अघि बढाउन संघ सरकारको सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै, मधेश प्रदेशमा स्थिरता र विकासका लागि निजामती सेवासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन तथा प्रदेश सरकारका अधिकार सुनिश्चित गर्न पनि संघ सरकारसँग सहकार्य गर्न मुख्यमन्त्री यादवले आग्रह गरे ।

यसअघि मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मधेश प्रदेशसभाबाट पारित प्रदेश प्रहरी ऐन र निजामती सेवासम्बन्धी ऐन तथा प्रहरी समायोजनका लागि प्रदेश सरकारले गरेका प्रयासबारे जानकारीसहितका पत्र गृहमन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए ।

प्रदेश प्रहरी भर्नाका लागि चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले करिब ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारीसमेत गृहमन्त्रीलाई गराइएको मन्त्री महतोले बताए ।

प्रदेश सरकारले प्रहरी संरचनाको सुदृढीकरणका लागि हालसम्म गर्दै आएको लगानी र आगामी योजनाबारे पनि गृहमन्त्रीलाई अवगत गराइएको उनको भनाइ छ ।

मधेश प्रदेशसभाको पहिलो कार्यकालमै प्रदेश प्रहरी ऐन तथा निजामती सेवासम्बन्धी ऐन सर्वसम्मत रूपमा पारित भए पनि संघीय तहबाट प्रहरी समायोजनलगायतका प्रक्रिया अघि नबढ्दा प्रदेशले आफ्ना अधिकार पूर्ण रूपमा प्रयोग गर्न नसकेको प्रदेश सरकारको गुनासो रहँदै आएको छ ।