प्रतिबन्धित ‘डीजे’सहितको गाडी नियन्त्रणमा, दुई जना पक्राउ

सर्लाही, २७ साउन । सर्लाही प्रहरीले ध्वनि प्रदूषण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै प्रतिबन्धित अवस्थामा सञ्चालन गरिएको ‘डीजे’सहितको गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्ला प्रशासन कार्यालय तथा जिल्ला सुरक्षा समितिको निर्णयविपरीत ठूलो आवाजमा डीजे बजाउँदै हिँडेको गाडीलाई प्रहरीले मलङ्गवा नगरपालिका–९ गोरखकालीबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उक्त स्थानबाट डीजे जडित साउन्ड सिस्टमसहितको १९ च ४२९१ नम्बरको योद्धा गाडी नियन्त्रणमा लिइएको हो ।
गाडीसँगै प्रहरीले डीजे सञ्चालक हरिपुर नगरपालिका–१ का ५५ वर्षीय जागेश्वर पण्डित र गाडी चालक बागमती नगरपालिका–४ का २३ वर्षीय जगन्नाथ साहलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, जिल्ला प्रशासन कार्यालयले विभिन्न सरोकारवालासँग गरेको सहमति तथा जिल्ला सुरक्षा समितिको निर्णयविपरीत ध्वनि प्रदूषण हुने गरी डीजे सञ्चालन गरिएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको गाडी, डीजे तथा दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण गराउने गरी डीजे तथा अन्य साउन्ड सिस्टम नबजाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
आदेशको उल्लङ्घन गरी डीजे सञ्चालन गरे कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

