पर्सा निकुञ्जमा ‘बाघ मित्र’ अभियान विस्तारको तयारी

पर्सा, २७ साउन । पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘बाघ मित्र’ अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ ।
निकुञ्जमा गरिएको पछिल्लो बाघ गणनाअनुसार बाघको सङ्ख्या ७१ पुगेको छ । यसअघि निकुञ्जमा ४१ वटा बाघ रहेकामा पछिल्लो गणनामा ३० वटा थपिएको निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले जानकारी दिए ।
बाघको सङ्ख्या बढेसँगै बाघप्रतिको समुदायको धारणा सकारात्मक बनाउने, मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने तथा बाघका कारण हुनसक्ने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले अभियानलाई समुदायस्तरसम्म विस्तार गर्न लागिएको हो ।
निकुञ्ज प्रमुख खतिवडाका अनुसार पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयसँगको समन्वयमा अभियान सञ्चालन भइरहेको छ ।
अभियानअन्तर्गत स्थानीय समुदायलाई वन्यजन्तुको महत्व, वन्यजन्तुबाट सुरक्षित रहने उपाय, वन्यजन्तुसँग समस्या उत्पन्न भएमा अपनाउनुपर्ने प्रक्रिया तथा राहत प्राप्त गर्ने विधिबारे जानकारी दिइँदै आएको छ ।
‘आहारको खोजीमा कहिलेकाहीँ बाघ जङ्गलबाट बाहिर निस्किन्छ । बाघ देख्नेबित्तिकै त्यसलाई नकारात्मक रूपमा हेर्ने प्रवृत्ति छ,’ खतिवडाले भने, ‘समुदायमा बाघप्रति सकारात्मक धारणा विकास गराउनुका साथै बाघबाट जोगिने उपायबारे सचेतना फैलाउन अभियान सञ्चालन गरिएको हो ।’
उनका अनुसार बाघलाई मानवको शत्रुका रूपमा मात्र बुझ्नु हुँदैन । बाघ पनि पारिस्थितिक प्रणालीको महत्वपूर्ण हिस्सा भएकाले यसको संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनमा समेत उपयोग गर्न सकिने भएकाले स्थानीय समुदायलाई त्यसतर्फ सकारात्मक बनाउन अभियान केन्द्रित गरिएको छ ।
निकुञ्जका अनुसार जङ्गलमा डढेलो लगाउने, वन्यजन्तुको चोरी तस्करी गर्ने तथा वन क्षेत्रमा मानवीय गतिविधि बढाउनेजस्ता कारणले वन्यजन्तु आफ्नो प्राकृतिक बासस्थानबाट बाहिर निस्कने अवस्था सिर्जना हुन्छ । यसले मानव र वन्यजन्तुबीच द्वन्द्व बढाउने गरेको छ ।
त्यसैले वन्यजन्तुको संरक्षणसँगै स्थानीय समुदायको सहभागिता र सचेतनालाई प्राथमिकता दिँदै ‘बाघ मित्र’ अभियानलाई थप विस्तार गर्न लागिएको निकुञ्जले जनाएको छ ।
अभियानले बाघ संरक्षण, मानव सुरक्षा र पर्यापर्यटनलाई एकसाथ अघि बढाउने विश्वास गरिएको छ ।

