रौतहटमा एकैदिन ९ फरार प्रतिवादी पक्राउ
रौतहट, २७ साउन । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई रौतहट प्रहरीले एकैदिन पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले मंगलबार जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी अदालतबाट फैसला भइसकेका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई अदालतले तोकेको कैद तथा जरिवाना असुलीका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार लागुऔषध तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दामा पुनम उपाध्यायलाई २ हजार १ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, चेक अनादर मुद्दामा पूजा पराजुलीलाई १ हजार, निर्मला चौधरीलाई ५ सय, रामनरेश साहलाई २ हजार र मोस्ताकिम मियालाई ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
हातहतियारसम्बन्धी कसुरमा दोषी ठहर भएका बिरेन्द्र राउतलाई ११ महिना १२ दिन कैद सजाय तोकिएको प्रहरीले जनाएको छ । लुटपिट तथा कुटपिट मुद्दामा उमेश साह तेलीलाई १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यसैगरी, सवारी ज्यान मुद्दामा दोषी ठहर भएका खोभारी साह सोनारलाई ३ वर्ष कैद र ३२ हजार रुपैयाँ जरिवाना तथा शिवमंगल प्रसाद कुशवाहालाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका ९ जनाको हकमा अदालतबाट कुल ६ वर्ष ११ महिना १२ दिन कैद तथा ६९ हजार १ सय रुपैयाँ जरिवाना तोकिएको छ ।
अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनसँगै अदालतबाट तोकिएको कैद तथा जरिवाना असुलीका लागि प्रहरीले फरार प्रतिवादीविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ ।


